नेपालगन्ज, असार १० – दुई बालकको अपहरणपछि हत्या गरेकामा नेपालगन्जका जियाउल सिद्दिकीलाई जिल्ला अदालतले ७६ वर्ष कैद तोकेको छ । उनले विद्यार्थी कपिल द्विवेदी र लीलाधर भट्टलाई अपहरण गरी हत्या गरेका थिए । जिल्ला न्यायाधीश हरिप्रताप केसीको इजलासले द्विवेदीको अपहरण तथा शरीर बन्धकमा १५ वर्ष, सामूहिक रूपमा नाबालक अपहरणमा थप दुई/दुई वर्ष र कर्तव्य ज्यानमा २० वर्ष गरी ३९ वर्ष कैद सुनाइएको हो । त्यस्तै भट्टको अपहरण तथा शरीर बन्धकमा १५ वर्ष, सामूहिक रूपमा अपहरणमा थप दुई वर्ष र कर्तव्य ज्यानमा २० वर्ष गरी ३७ वर्ष तय गरेको हो ।
दुई छुट्टाछुट्टै मुद्दा भएकाले दुवै जोड्दा ७६ वर्ष कैद पुगेको अदालतका स्रेस्तेदार आत्मदेव जोशीले बताए । अपहरणपश्चात् १० लाख रुपैयाँ फिरौती लिएर हत्याको अभियोग लागेका अन्य १० जनालाई २०६९ मंसिर २९ मा तत्कालीन जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासले ७८ वर्षको कैद सजाय सुनाएको थियो । तर सिद्दिकीलगायत उक्त मुद्दाका ६ अभियुक्त फरार थिए ।
सिद्दिकी २ ग्राम लागूऔषध ब्राउन सुगरसहित २०७० असार १८ गते नेपालगन्जको बसपार्कबाट पक्राउ परेका थिए । आफ्नो नाम वकिल दर्जी बताउँदै लागूऔषध कारोबारमा सक्रिय रहेका उनलाई उक्त मुद्दाको अनुसन्धान गर्ने क्रममा मात्र बालक अपहरण र कर्तव्य ज्यान मुद्दाको अभियुक्तसमेत रहेको थाहा भएको थियो ।
अदालतले पीडित परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र फिरौतीबापत लिएको १० लाख रुपैयाँ दामासाहीले फिर्ता गर्न आदेश दिएको छ । EKANTIPUR