नेपाल वायु सेवा निगमले चीनबाट अनुदानमा ल्याएको एमएम ६० जहाज आज आधा मात्र यात्रु बोकेर विराटनगर गएको छ। बुधबारबाट व्यावसायिक उडान सुरु गर्दै जहाज २६ जना यात्रु बोकेर बिहान सवा ८ बजे विराटनगर उडेको हो ।
एमएम ६० जहाज ९ बजे विराटनगर विमानस्थलमा ल्याण्ड गरेको विमानस्थलका अधिकारीहरुले बताएका छन्। जहाजमा २६ यात्रु र चिनियाँ क्याप्टेन वाङ क्युउ, नेपाली क्याप्टेन एन के गुप्ता सहित चालक दलका ८ सदस्य रहेको त्रिभुवन विमानस्थलका डिआइजी यादव अधिकारीले जानकारी दिए।
जहाजको सिट क्षमता ५६ जनाको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमतिपत्र लिन लामो समय लागेका कारण असारको सुरुबाटै उडान सुरु गर्ने जनाइए पनि प्रक्रिया पूरा गर्न केही समय लागेको हो ।
निगमले बुधबारका लागि काठमाडौँ-विराटनगर, विराटनगर-काठमाडौँको उडान तालिका तय गरेको थियो ।
निगमले विराटनगरका लागि ३ हजार ५०५ एकतर्फी भाडादर तय गरेको छ । अति व्यस्त हुने स्थानअन्तर्गत निगमले पहिलो चरणमा विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा सेवा दिने जनाएको छ । निगमले तय गरेको भाडा दर अन्य सेवा प्रदायक विमान कम्पनीको तुलनामा सस्तो छ ।
पहिलो चरणमा हप्तामा १५ उडान गर्ने योजनाअन्तर्गत बुधबारबाट व्यावसायिक उडान सुरु गरिने र विस्तारै थप गर्दै लैजाने निगमको योजना छ ।
जहाज आएको लामो समय हुँदासम्म उडान हुन नसकेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो लिएको थियो । आयोगले दिएको निर्देशनअनुसार प्राधिकरण र निगमका उच्च अधिकारीले असार १५ गतेभित्र उडान सुचारु गर्ने प्रतिबद्धता जनाएका थिए ।
आयोगले पहिलो चरणमा १० गतेभित्रै उडान सुरु गर्न निर्देशन दिए पनि प्राविधिक प्रक्रिया पूरा गर्न थप केही दिन लाग्ने जनाउँदै आएको थियो । निगमले मंगलबार मात्र प्राधिकरणबाट उडान अनुमतिपत्र पाएको थियो ।
सेतोपाटी
प्रकाशित मिति: बुधबार, आषाढ ११, २०७१