रूपन्देही : बुटवल नगरपालिका १३ निवासी अस्वस्थ विद्यार्थी सृष्टि टण्डनले सोही वडास्थित घरपायकको नवीन औद्योगिक कदरबहादुर रीता उच्च माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्न पाउँ भनी दिएको निवेदन विद्यालयले ठाडै अस्वीकार गरेपछि उनी अदालतको शरणमा पुगेकी छन्।
शिक्षाको मौलिक अधिकार कायम गराइपाउन विद्यार्थी अदालतको शरणमा पुगेको यो घटना सम्भवत: मुलुकको शैक्षिक इतिहासमा पहिलो हो। बुटवलस्थित पुनरावेदन अदालतले टण्डनको निवेदनको सुनुवाइ गर्दै विद्यालयको नाममा यही असार ५ गते परमादेश जारी गरी टण्डनलाई भर्ना नगर्नुको कारण, आधार र प्रमाण पेस गर्न आदेश दिएको छ।
विद्यालयले असार ८ गते अदालतमा उक्त अन्तरिम आदेश रद्द गरिपाउँ भनी निवेदन दिएको छ। विद्यालयले गत वैशाख ७ र १६ गते प्रवेश परीक्षा लिएकोमा टण्डन सामेल नभएकाले भर्ना गर्न नमिल्ने कारण, आधार र प्रमाण पेस गरेको छ।
सृष्टिकी आमा सावित्रा र बाबु शंकर टण्डनले आफूहरूले शैक्षिक सत्र सुरु हुनुअगावै माघ महिनामै विद्यालय प्रशासनसँग सम्पर्क राखी आफ्नो छोरी मुटुको दीर्घरोगी भएकाले बोर्डिङको कडा वातावरणमा पढ्न नसकेको र घरपायकको एवं सडक पार गर्न नपर्ने सुविधाको यो विद्यालयमा पढ्न चाहेको कुरा राखेको बताउँछन्।
विद्यालयले कुरा नसुनेपछि टण्डनले वैशाख ३० गते जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएकोमा जिशिकाले विद्यालयलाई भर्ना गर्न निर्देशन दिएको थियो। जिशिकाको निर्देशन पालना नभएपछि जेठ ५ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकोमा प्रशासनले बालिकाको पढ्न पाउने मौलिक हकको पालना गर्नगराउन जिशिकालाई निर्देशन दिएको थियो।
प्रशासनले टण्डनको मौलिक अधिकार संरक्षण नभएमा कारबाही गर्ने चेतावनी दिए पनि काम नभएपछि टण्डन अदालतको शरणमा पुगेकी हुन्। उनले ५ कक्षा स्थानीय न्यु होराइजन बोर्डिङबाट उत्तीर्ण गरेको प्रमाणपत्र र मुटुको त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौंबाट उपचार गराएको प्रमाणसमेत पेस गरेकी छन्।
जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले आफू भर्खरै सरुवा भई आएकाले यसबारेमा पूर्ण विवरण थाहा नभएको र समस्या बुझी तत्काल हल गर्न पहल गर्ने बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कदरबहादुर रायमाझीले सृष्टि प्रवेश परीक्षामा सामेल नभएकाले भर्ना गर्न नसक्ने बताए। समितिकै सदस्य सीपी शर्माले टण्डनको मौलिक हक कायम गर्न आफूले पटकपटक अध्यक्षलाई सुझाउ दिए पनि वास्ता नगरेको बताए।
सृष्टिलाई भर्ना गरेमा उनकी आमा सावित्रा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा उम्मेदवार बन्ने सम्भावना भएकाले अध्यक्ष रायमाझीले सृष्टिलाई भर्ना नगरेको जानकार बताउँछन्। रायमाझी गैरअभिभावक भएकाले अवैध अध्यक्ष भएको पनि बताइएको छ। उक्त विद्यालय समुदायमा हस्तान्तरण गरिएका मुलुकभरका विद्यालयमध्ये सर्वोत्कृष्ट विद्यालय हो। पटकपटक राष्ट्रिय शिक्षा पुरस्कार र एसियाली विकास ब्यांक एडीबीबाट पुरस्कृत भएको छ। महेन्द्र थापा – बुटवल – अन्नपूर्ण पोस्ट