काठमाडौं, आषाढ १५ । सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ। राष्ट्रपति डा. रामवरण यादवले दिउँसो ३ बजे व्यवस्थापिका संसदको बैठकमा नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेश गरेका थिए।
२०७० साल मंसिर ४ मा भएको संविधानसभा निर्वाचनबाट चुनिएर आएका सभासदहरुलाई संसदमा औपचारिक रुपमा राष्ट्रपतिले संबोधन गर्न लाग्नु भएको पनि यो पहिलो अवसर हो । कार्यक्रममा उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखहरु पनि सहभागि थिए।
नीति तथा कार्यक्रममा सरकारले संविधान निर्माण, स्थानीय निकायको निर्वाचन, कृषि, उर्जा, पर्यटन, भौतिक पूर्वाधार, राष्ट्रिय गौरवका आयोजनालगायतका विकास निर्माणमा प्राथमिकता दिएको छ । यसैगरी शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नु, द्वन्द्वका क्रममा पीडित भएकाहरुलाई राहत उपलब्ध गराउने, आर्थिक सामाजिक रुपमान्तरणमार्फत् सुशासनको प्रत्याभूति दिलाउने जस्ता कार्यक्रम समेटिएका छन् ।
संवैधानिक सर्वोच्चता, मानवअधिकारको संरक्षण र प्रवद्र्धन, कानूनी शासनको प्रत्याभूति, पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिने छन् ।
नीति तथा कार्यक्रम ल्याउन मन्त्रिपरिषदको बैठक अहिले बस्दैछ । मन्त्रिपरिषदको अध्यक्षता पहिलो पटक कार्यवाहक प्रधानमन्त्रीले गर्न लाग्नु भएको छ । प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि अमेरिकामा रहनु भएकाले पहिलो पटक कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बस्ने बैठकले नीति तथा कार्यक्रम पारित गर्नुका साथै अरु अत्यावश्यक निर्णयहरु पनि लिन सक्नेछ । बैठकमा २६ सभासद्को मनोनित र नेपाल प्रहरीका एआइजीहरुको बढुवाका बारेमा पनि छलफल हुने बताइएको छ । IMAGEKHABAR