काठमाडौं, असार १५ – नेकपा एमालेको नवौं महाधिवेशन नजिकिँदै जाँदा अध्यक्षका प्रतिस्पर्धीद्वय वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली महाधिवेशन प्रतिनिधि आफूतिर तान्ने कसरतमा लागेका छन् । शनिबार नेपाल पक्षले राजधानीको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा प्रतिनिधिको भेला गर्यो भने ओली पक्षले त्यसको पाँच सय मिटरको दूरीमा एक पुस्तक विमोचनका नाममा महाधिवेशन केन्दि्रत कार्यक्रम गर्यो । दुवै कार्यक्रमको उद्देश्य महाधिवेशनका लागि माहोल तताउनु थियो ।
कार्यक्रममा नेपालले युवा पुस्तालाई नेतृत्व हस्तान्तरणका लागि आफ्नो पक्षलाई जिताउनुपर्ने बताइरहेकै बेला ओलीले आफू अर्थपूर्ण ढंगले नेतृत्व हस्तान्तरण गर्ने पक्षमा भएको बताए । ‘पालैपालो नेतृत्व गर्ने भनेर ३० वर्ष पार्टी कब्जा गर्ने कुरालाई स्वीकार गर्न सकिँदैन,’ नेपालले भने । उनले ओली पक्षलाई संकेत गर्दै पैसाले एमाले प्रतिनिधि किन्न नसकिने उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न आग्रहसमेत गरे । उनले महाधिवेशनमा विचारको प्रतिस्पर्धा हुनुपर्ने बताए । ‘कहीं कतै सत्ता र पैसाको दुरुपयोग होला, त्यसबाट सावधान रहनुपर्छ,’ उनले भने ।
राजधानीमा उपलब्ध महाधिवेशन प्रतिनिधिको भेलामा नेपालले करिब एक घन्टा प्रवचन दिएका थिए । उता केपी ओलीले स्वास्थ्यमन्त्री खगराज अधिकारीको आत्मकथा विमोचन कार्यक्रममा नेताहरूलाई पार्टीमा स्थापित हुन नदिन चालबाजी रचिएको बताए । ‘नेतृत्व गरेको साथीले त्यतिबेलै छाडेर अर्कालाई सुम्पेको भए अहिलेसम्म नयाँ पुस्तामा नेतृत्व राम्ररी पुगिसक्थ्यो,’ उनले भने, ‘अहिले हस्तान्तरणबाट सुरु हुन्छ र नयाँ पुस्तामा जान्छ । उनले आफ्नो इच्छा सकेसम्म छिटो बाटो देखाएर नेतृत्व हस्तान्तरण गर्ने रहेको बताए ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ असार १५