प्रधानमन्त्री सुशील कोइरालाको लगातार ६ दिन रेडियो थेरापी हुने भएको छ ।
कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले न्यूयोर्कमा सम्पर्क गरी बुधबारदेखि लगातार ६ दिनसम्म प्रधानमन्त्री कोइरालाको रेडियो थेरापी हुने जानकारी पाएको केन्द्रीय समिति र संसदीय दलको बैठकमा जानकारी गराउनु भएको हो ।
६ दिनसम्म थेरापी गराएर २८ गते स्वदेश फर्किने जानकारी पनि बैठकमा पौडेलले गराएको नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिनुभयो ।
फोक्सोमा दाग देखिएपछि स्वास्थ्य परीक्षण गराउन अमेरिका गएका कोइरालालाई क्यान्सर लागेको पुष्टि भएपछि अमेरिकामै उपचार गराउन लागिएको हो ।
मोदीद्वारा स्वास्थ्य लाभको कामना
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । मोदीले पत्रमार्फत प्रधानमन्त्री कोइरालाको स्वास्थ्यप्रति चासो व्यक्त गर्दै शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गरेकोे प्रधानमन्त्रीको प्रेश संयोजक प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।