नेकपा एमालेको बिहीबार सुरु हुने नवौं महाधिवेशनको तयारी अन्तिम चरणमा

नेकपा एमालेले बिहीबार सुरु हुने नवौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतिनिधिको प्रमाणिकरण बाहेक अरु धेरै काम सकिएको महाधिवेशन व्यवस्थापन समितिका सचिव विष्णु रिमालले जानकारी दिनुभयो ।
अहिलेसम्म झण्डै आधा प्रतिनिधिको मात्र प्रमाणिकरण भएर परिचय पत्र सहितको कार्ड उपलध गराइएपनि आधा अझै बाँकी रहेको रिमालले बताउनुभयो । संगठन विभागले प्रमाणिकरण गरेपछि उनीहरु सबैलाई डिजिटल कार्ड उपलब्ध गराइनेछ । एमालेमा २ हजार २ सय १४ जना प्रतिनिधि चयनको टुङ्गो लागिसकेको छ भने बाँकी ५ प्रतिशत अझै मनोनयन हुन बाँकी छ ।
एमालेको विधान अनुसार ५ प्रतिशत अर्थात १ सय ११ जना प्रतिनिधि पार्टीले मनोनयन गर्ने व्यवस्था छ । त्यसका लागि बुधबार केन्द्रीय कमिटीको बैठक बस्न सक्ने सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । तर त्यसअघि स्थायी कमिटी बैठक बस्नुपर्ने हुन्छ ।
एमाले महाधिवेशनको बिहीबार दिउँसो एक बजे भृकुटी मण्डपमा उद्घाटन कार्यक्रम छ । भृकुटी मण्डपमा प्रतिनिधिहरु मात्र अट्न सक्ने क्षमता भएकाले बाँकी कार्यकर्तालाई प्रत्यक्ष प्रशारण हेर्नका लागि राष्ट्रिय सभा गृहमा व्यवस्था गरिएको रिमालले बताउनुभयो ।