नेकपा एमालेमा अब नेतृत्वका लागि फेरि झलनाथ खनालको पनि दावी आउने संकेत देखिएको छ ।
खनाल निकट नेताले खनालको नाम अघि सार्न थालेका छन् । महाधिवेशन सुरु हुन एक दिन अघि काठमाडौंमा भएको कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं एमाले नेता भीम आचार्यले अध्यक्ष झलनाथ खनालले मात्रै सबैलाई मिलाएर लजान सक्ने भन्दै खनालको विकल्प नभएको दावी गर्नुभयो ।
पार्टी भित्र नेतृत्वलाई लिएर एक अर्का प्रति हिलो छ्याप्ने कामले पार्टीलाई ५४ सालकै विभाजनको अवस्थामा पुर्याउन खोजेको भन्दै आचार्यले यसबाट पार्टीलाई बचाउन खनालको नेतृत्व आवश्यक रहेको तर्क गर्नुभयो ।
कार्यक्रममा युवा नेता घनश्याम भुषालले अबको विचार राजनीति नभई सामाजिक आर्थिक रुपान्तरण गर्ने सिद्धान्त हुने भएकोले त्यसलाई कुनै गुटले अघि बढाउन नसक्ने दावी गर्दै संगठनलाई सुदृढीकरण गर्दै अघि बढाउनु पर्नेमा जोड दिनुभयो । विचार र नेतृत्वको तारतम्य नमिले पार्टी ध्वस्त हुने चेतावनी दिदै केपी ओली समूहले विचारको नेतृत्व गर्न नसक्ने भुसालले ठोकुवा गर्नुभयो । भुषालले अहिलेको अवस्थामा सबैलाई मिलाएर अघि बढ्न सक्ने नेता माधवकुमार नेपाल भएको दावी गर्नुभयो ।
नेपालले आगामी महाधिवेशनबाट ३६ सालको पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता सार्वजनिक रुपमा नै ब्यक्त गरेकोले अब एमालेमा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको भुसालले बताउनुभयो ।
केपी ओली समूहका नेता रघुवीर महासेठले माधव नेपाल यथास्थितिबादी भिजन र मिसन नभएको नेता भएकोले केपी ओलीको विकल्प नभएको दावी गर्दै फेरि माधवकुमार नेपाल नेतृत्वमा आए पाटी अघि नबढ्ने बरु विध्वशंको बाटोमा अघि जाने चेतावनी दिनुभयो ।
यसैबीच नेकपा एमालेका नेता एवं अध्यक्षका आंकाक्षी केपी शर्मा ओलीले पार्टी भित्र वरिष्ठ नेता माधवकुमार नेपालले थिचोमिचो कायम गरेकोे कडा टिप्पणी गर्नुभएको छ । उज्यालोसँगको कुराकानीमा नेता ओलीले वरिष्ठ नेता नेपालले पार्टी भित्र लोकतान्त्रिक अभ्यास हुन नदिएको र बाहिर मात्रै लोकतन्त्रको कुरा गरेको बताउनुभयो ।
अहिले अध्यक्षमा आफ्नो उम्मेदवारी नेपालको सामन्ती थिचोमिचो विरुद्ध भएको ओलीको भनाई छ । विगतमा गणतन्त्र विरोधी भूमिका खेलेको भन्ने नेपाल पक्षको आरोपको खण्डन गर्दै नेता ओलीले माधव नेपालकै नेतृत्व र सोंचका कारण राजतन्त्र विरोधी आन्दोलनका विषयमा पार्टी प्रष्ट हुन नसकेको आरोप लगाउनुभयो । वरिष्ठ नेता नेपाल संविधान सभा विरोधी र राजतन्त्रसँग सहकार्य गर्नुपर्छ भन्ने विचारको पक्षपाती रहेको पनि ओलीको दावी छ । – उज्यालो