प्रशान्त तामाङ प्रहरी सेवाबाट निलम्बित

बेनुपराज भट्टराई – इलाम-जसले जनलहर सिर्जना गरेर अविछिन्न भोट गर्दै जितायो उसैलाई बिर्सिएपछि तेस्रो इण्डियन आइडल प्रशान्त तामाङको स्थायी जागिर चट् भएको छ। भारतको सम्मानित उपाधि जितेर नाम कमाए पनि ‘प्रहरी विभागको ऐन भङ्ग गरेको’ कारण देखाउँदै कोलकाता प्रहरीले उनलाई जागिरबाट निलम्बित गरेको हो। तामाङ तीन साताअघि निलम्बित भएको खबर भरखरै बाहिरिएको हो।
सात बर्षअघि सोनी टेलिभिजनबाट सञ्चालित गायन प्रतियोगिता जितेर आइडल बनेका दार्जिलिङका तामाङ प्रहरी नोकरीबाट निलम्बित भएका हुन्। आइडल भएपछि रातारात चर्चित भएका उनलाई ‘एक हजार ८ सय ७० दिन ड्युटीमा नआएको’ कारण देखाएर कोलकाता प्रहरीले निलम्बन गरेको भारतीय सञ्चारमाध्यमले बिहिवार जनाएका छन्। तामाङले यसबारे केही बोलेका छैनन्।
कोलकाता प्रहरीमै नोकरी गर्ने बुवाको दुर्घटनामा मृत्यु भएपछि तामाङले दार्जिलिङस्थित सेन्ट रोवर्टस स्कुलको पढाई छोडेर त्यहाँ जागिर थालेका थिए। ‘रिजर्भ फोर्स’बाट जागिर सुरु गरेका तामाङ ‘स्पेशलाइज्ड एक्सन फार्स’ हुँदै प्रहरीको अर्केस्टा गाउँथे। २३ सेप्टेम्बर २००७ मा सात करोड ‘भोट’ ल्याएर आइडल बनेका उनलाई गत जुन १३ देखि प्रहरी सेवाबाट निकालिएको हो।
‘आइडल हुनलागेको खुसीयालीमा पुलिस विभागले नो वर्क नो पे नीति अँगाल्दै तामाङलाई दुई बर्षे छुट्टी दिएको थियो’ भारतीय सञ्चारमाध्यमले लेखेका छन्, ‘९ मे २००९ मा छुट्टी सकिए पनि त्यसयता विभागमा कुनै सम्पर्क नगरेकाले प्रहरी सेवाबाट निलम्बित गरिएको हो।’ तामाङलाई जिताउन मरिमेट्ने प्रहरीका अधिकारीहरु उनको बेवास्ताप्रति रुष्ट भएको जनाइएको छ।
१९९४३ नम्बरका कन्सटेवल तामाङ लामो समय सम्पर्कमा नआएपछि विभागले अनुसन्धान थालेको उल्लेख गर्दै कोलकाताबाट प्रकाशित हुने एक बंगाली पत्रिकाले लेखेको छ, ‘अनुसन्धानबाट उनले ऐन कानुनको बेवास्ता गरेको पुष्टि भएपछि जागिरबाट हटाइएको हो।’ तामाङलाई आइडल बनाउन कोलकाता प्रहरीकै एक संयुक्त जाँच अधिकारी एसएमएस भोटिङ अभियानमा जुटेका थिए।
‘आइडल भएपछि हामीलाई बेवास्ता गरेको’ भन्दै दार्जिलिङवासी रुष्ट भएपछि गृहथलोमै असुरक्षित महसुस गर्ने तामाङ अचेल ओझेल परेका छन्। ‘गोर्खापल्टन’ सहित केही नेपाली फिल्ममा अभिनयसमेत गरेका उनले तीन बर्षअघि पूर्वोत्तर भारतको नागाल्याण्डकी विमान परिचारिका युवती मार्था एली (गीता) लाई विवाह गरेका थिए। तामाङको खास घर दार्जिलिङ चौरस्तानजिक तुङसुङ हो।
‘जुन कोलकाता प्रहरीका माध्यमबाट गायन सुरु गरेर तामाङले आइडलको उपाधि जिते, त्यसैलाई बिर्सिंदा उनको जागिर गयो’ सिलिगुडीबाट प्रकाशित हुने ‘हिमालय दर्पण’मा उल्लेख छ, ‘आइडल भएपछि प्रहरी कन्सटेवलको जागिर आवश्यकता नभए पनि उनले विभागमा सम्पर्क टुटाउनु हुँदैनथ्यो।’ विभागको उल्लेख्य साथले आइडल हुँदा तामाङको भोट दोस्रो हुनेको भन्दा १० गुणा थियो।