काठमाडौ, असार २५ – एमाले महाधिवेशनबाट प्रस्तावित विधान संशोधनसहित पारित गरेको छ । संशोधिन विधानअनुसार केन्द्रीय कमिटी एकजना बरिष्ठ नेतासहित १ सय ५९ सदस्यीय भएको छ ।
महाधिवेशन सञ्चालनका लागि गठन भएको स्टेरिङ कमिटी सदस्य भानुभक्त ढकालका अनुसार समावेशी १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीको विधान संशोधन प्रस्ताव पारित भएको छ । विधान संशोधन प्रस्ताव पारित भए पनि दलित समूदायले असन्तुष्टि जनाउँदै नाराबाजी गरे ।
एमालेमा पूर्ण केन्द्रीय कमिटीमा महिला १७, जनजाति १२, तराई मधेस ९, मुस्लिम २, दलित ५, पिछडिएको क्षेत्र १, श्रमिक-मजदुर २, सम्पर्क १, भूगोल १५ र खुला ५० जना रहनेछन् । पूर्ण केन्द्रीय कमिटी १ सय १४ सदस्यीय हुनेछ ।
विधान संशोधन भएसँगै वैकल्पिक केन्द्रीय कमिटीमा महिला ५, जनजाति ६, तराई मधेस ४, मुस्लिम १, दलित ३, पिछडिएको क्षेत्र २, श्रमिक-मजदुर २, भूगोल १५ र खुला ६ जना रहनेछन् । पूर्ण केन्द्रीय कमिटी ४४ सदस्यीय हुनेछ ।
एमाले विधानमा निवर्तमान अध्यक्ष पदेन बरिष्ठ नेता हुनेछन् ।
एमाले विधान संशोधन कार्यदलले तयार पारेको १ सय ४९ सदस्यीय केन्द्रीय कमिटी हेरफेर गर्दै नयाँ विधान संशोधनसहित पारित गरेको हो ।
केन्द्रीय कमिटीमा १५ सदस्यीय पदाधिकारी हुनेछ । अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव २, सचिव ५ सहित बरिष्ठ नेता पदाधिकारी हुनेछन् ।