आगामी आर्थिक वर्ष २०७१/०७२ को बजेट आइतबार आउने भएको छ ।
विहीबार बसेको ब्यवस्थापिका संसदको बैठकमा सभामुख सुवास नेम्वाङले असार २९ गते आइतबार दिउँसो ४ बजे संसदमा बजेट पेश गर्ने अर्थमन्त्रालयको पत्र पढेर सुनाउनु भएको हो ।
यसअघि आगामी वर्षको बजेट जेठ भित्रै ल्याउने भनिएपनि रकमान्तरको विषयमा विबाद भएर समयमा प्रिबजेट छलफल हुन नपाएपछि असार अन्तिममा मात्रै बजेट आउने भएको हो । राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई बजेटको सीमा ५ खर्ब ९६ अर्बको सिलिङ तोकेको भएपनि सरकारले ६ खर्ब रुपैयाँ भन्दा धेरैको बजेट ल्याउने तयारी गरेको छ ।
यसैबीच अर्थमन्त्री डा रामशरण महतले ब्यवस्थापिका संसदको विहीबारको बैठकमा आर्थिक सर्वेक्षण पेश गर्नु भएको छ । आर्थिक सर्वेक्षणको यो वर्षको आर्थिक बृद्धिदर साढे ५ प्रतिसत हुने प्रक्षेपण गरिएको छ । यो बृद्धिदर विगत ६ वर्षकै उच्च हो ।
अर्थमन्त्री महतले चालु आवमा कूल निर्यातमा सुधार आएपनि आयात २२ प्रतिशतले बढेको जानकारी दिनुभयो । चालु आवमा व्यापार घाटा बढ्दै गएको भन्दै अर्थमन्त्री महतले आर्थिक वर्षको अन्त्यसम्ममा व्यापार घाटा ६ अर्ब रुपैयाँ पुग्न सक्ने बताउनुभयो । बैंकमा निक्षेप बढे अनुसार कर्जा लगानी हुन नसकेको भन्दै अर्थमन्त्री महतले निक्षेप परिचालनको वातावरण बनाउनु नै अहिलेको सबैभन्दा ठुलो चुनौती भएको बताउनुभयो ।
जानकारी । तपाईंका समाचार सामाग्री, सुझाव व अन्य केही भए हामीलाई umakantapandey@sandhikharka.com मा ईमेल गरी पठाउन सक्न्नुहुनेछ । – अर्घाखाँची डट्कम