नेकपा माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक स्थगित

नेकपा माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ ।
ललितपुर कुपण्डोलमा रहेको जनवर्गीय संगठनको कार्यालयमा सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठक गृहकार्य नपुगेको भन्दै एक हप्ताका लागि स्थगित भएको केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले जानकारी दिनुभयो ।
सोमबारको बैठकमा अध्यक्ष मोहन बैद्य किरण र सचिव नेत्रविक्रम चन्द विप्लवले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । अध्यक्ष बैद्यले पार्टीको कार्यदिशाको टुङ्गो लगाउन एक वर्ष भित्रमा महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको छ ।
आइतबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टी संसदवादी जस्तो भएको, पार्टीमा अन्यौलता र अस्पष्टता भएको भन्दै त्यसलाई चिरेर अघि बढ्नु पर्ने सुझाव दिएका थिए ।
केन्द्रीय समितिले तत्काल पार्टी सञ्चालनका लागि भन्दै बनाएको साझा धारणाको प्रतिवेदनसहित, अध्यक्ष  मोहन बैद्य किरण र सचिव नेत्रविक्रम चन्द विप्लवको छुट्टाछुटै दस्तावेज पेश गर्नुभएको थियो ।