श्रावण ३ । मलेशियन एयरलायन्सको विमान खसाल्न युक्रेनका रुसी पृथकतावादीको हात रहेको आशंका गर्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले तत्काल छानबीन गर्न माग गरेका छन् । यसअघि संयुक्त राष्ट्रसंघले पनि छानबीन गरी दोषीलाई कडा दण्ड दिन माग गरेको थियो ।
ओबामाले विमान मिसाइल आक्रमण गरी खसालेको प्रमाण पनि भएको दावी गर्नुभएको छ । पृथकतावादीले भने आफूहरुले कुनै मिसाइल नचलाएको दावी गर्दै आएको छ ।
विहीवार रुसी पृथकतावादीहरुको नियन्त्रणमा रहेको यूक्रेनी भूमिका उक्त विमान आक्रमणमा परी ध्वस्त हुँदा २ सय ९८ जनाको मृत्यु भएको थियो । ओबामाले यो घटनालाई ग्लोबल ट्रेजेडीको संज्ञा दिएका छन् । उनले संघर्षमा रहेका दुबै पक्षलाई तत्काल युद्धविराम गर्न पनि आह्वान गरेका छन् । ओबामाले यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए ।
नेदरल्याण्डस्को आम्र्सटडमबाट मलेशियाको क्वालालाम्पुरका लागि उडान भरेको एमएच १७ को बोईङ ७७७ मा १५ जना चालक दलका सदस्य र २ सय ८३ यात्रु थिए । विमान युक्रेनको द्धन्दग्रस्त क्षेत्र डोनेस्क नजिकबाट रुसको भागतर्फ अगाडि बढ्नै लाग्दा दुर्घटना भएको विमान आकाशबाट जल्दै खसेको थियो ।
विमानमा १ सय ८९ नेदरल्याडस्का, २७ जना अष्ट्रेलियाका, ४४ जना मलेशियाका, १२ जना ईण्डोनेशियाका, १० जना बेलायतका नागरिक सवार रहेको जनाइएको छ । विमानमा सवार बाँकी ४३ जना यात्रुमा जर्मनी, बेल्जियम, फिलिपिन्स र क्यानाडाका नागरिक रहेको वताइएको छ ।
विमानमा सवार अधिकांश अष्ट्रेलियाको मेलबर्नमा हुने एचआईभी एड्स सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिन गईरहेका थिए । युक्रेनले पृथकतावादीहरुले ३३ हजार फिट उचाइमा उडिरहेको विमान क्षेप्यास्त्र प्रहार गरेर खसाएको दाबी गरेको छ ।
रुसले क्राइमिया नियन्त्रणमा लिएपछि युक्रेन र रुसवीच तनाव जारी छ । रुसले विद्रोहीलाई क्षेप्यास्त्र र अत्याधुनिक हतियार दिएको आरोप युक्रेनले पहिलेदेखि लगाउंदै आएको छ ।
रुस समर्थक पृथकतावादीले केही दिनअघि मात्र युक्रेनी जेट विमान खसाएका थिए । चार महिनाअघि पनि क्वालालम्पुरवाट वेइजिङतर्फ उडेको २ सय ३९ जना रहेको सोही एअरलाइन्सको विमान वेपत्ता भएको थियो । उक्त विमानको अझै पत्तो लाग्न सकेको छैन् । AGENCIES