श्रावण १४ । गाजामा इजरायल र प्यालेष्टायनी समूह हमासबीच जारी संघर्षमा एक सय जना प्यालेष्टायनी सर्वसाधारण मारिएका छन् । सात परिवारका सबै सदस्यलाई सखाप पारेर मारिएको छ ।
युद्ध विभिषिकाले समग्र गाजालाई गाँजिसक्दा पनि हमासको कमाण्डरले आफूहरु युद्ध नरोक्ने बरु मरेरै सकिने प्रतिक्रिया दिएका छन् । आफूहरुलाई कुनै शर्त मान्य नरहेको भन्दै हमासका कमाण्डरले भनेका छन्, पहिले गाजामाथिको इजरायली हस्तक्षेप रोकिनु पर्दछ ।
दुई जना इजरायली युवालाई पक्रेको निहुँबाट गाजापट्टीमा सल्केको युद्धको आगोले अहिलेसम्म १२ सय निहत्था प्यालेष्टायनीको ज्यान लिइसकेको छ भने इजरायलतर्फ ५३ जना सैनिक मारिएका छन् ।
हजारौंहजार घाइते भएका छन् भने लाखौं प्यालेष्टायनी सर्वसाधारण घर छाडेर शरणका लागि भागेका छन् । उत्तरी गाजाका बासिन्दालाई घर छाड्न भन्दै इजरायलले विमानबाट पर्चा छाडेको खबर छ । यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा लामो युद्ध गर्ने चेतावनी दिएका थिए ।
राष्ट्रसंघका महासचिव बान कि मून, राष्ट्रसंघीय सुरक्षा परिषदलगायत अन्तर्राष्ट्रिय संघसंस्थाले युद्ध रोकेर वार्तामा बस्न लगातार आग्रह गरे पनि दुबै पक्षले लत्याई रहेका छन् । AGENCIES