शोभाखर पन्थी
नरपानी, अर्घाखाँची श्रावण २१ । अर्घाखाँचीको नरपानीमा उत्खनन हुदै आएको चुनढुङ्गा २१ महिना देखि बन्द भएको छ । चुनढुङ्गा उत्खनन बाट खानेपानीका मुहान सुक्न थालेपछी स्थानीय बासीन्दाहरुले २०६९ कार्तिक १८ गते देखि खानी बन्दगर्दै आएका हुन् ।
जिल्लाको ऐतीहासीक, धार्मिक तथा पर्यटकिय स्थल नरपानीमा डाइनेष्टिक कम्पनिले ८ बर्ष देखि चुनढुङ्गा उत्खननगरी कपिलवस्तुको वीरपुरमा पु-याएर सिमेन्ट उत्पादन गर्दै आएको थियो । डाइनेष्टिक कम्पनिले वातावरणीय तथा पर्यावरणीय समस्या प्रति कुनै विचार नपु-याइ प्राकृनिक साधन र श्रोत माथि ब्यापक बिनास गरेको भन्दै, स्थानीय बासीन्दाहरु आन्दोलित भई खानी वन्दगरेका हुन् ।
चुनढुङ्गा उत्खननका कारण खानीको आसपासका गाउँमा बस्ने बासीन्दाहरुले निक्कै ठूलो सास्ती ब्यहोर्दै आएका छन् । पुस्तौं देखिका खानेपानीका आधादर्जन भन्दा बढी मुहान सुके पछि स्थानीय वासिन्दाहरु आन्दोलित भएका हुन । कम्पनीले वातावरणीय पर्यावरणको बेवास्ता गरी वातावरणीय विनास र दोहन गर्दै भरपूर फाइदालिन खोजेपछि स्थानीय बासिन्दाहरु बाध्य भई आन्दोलनमा उत्रिएको स्थानीय अगुवा पदम के.सी ले बताउनु भयो । खानीबाट निस्कीएको धुलोका कारण स्थानीय बासीन्दाको स्वास्थ्यमा प्रतिकुल असर पर्नुका साथै बस्तुभाउ चराउन समेत समस्या भएको थियो ।
अर्घाखाँचीको एकमात्र पक्की सडक गोरुसिङ्गे सन्धिखर्कमा सडकको क्षमता भन्दा बढी भार बोकेका चुनढुङ्गाका टिप्परका कारण करोडौं रुपैयाको लागतमा सरकारले बनाएको सडक समेत विग्रिन पुगेको थियो । कम्पनीले १० टन क्षमताको सो सडकमा २० टन सम्मको भार भएका ढुवानीका साधन संचालन गर्दै आएको थियो ।
अर्घाखाँचीमा सबैभन्दा बढी पानीको श्रोत भएको ऐतिहासिक नर्तनाञ्चल पहाड ध्वस्त भएमा जिल्लाको नरपानी, खाँचीकोट, सितापुर, सुवर्णखाल, ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, अड्गुरी, पाली, सन्धिखर्क लगायतका १५ गा बि स का साथै अर्घाखाँची, कपिलवस्तु, गुल्मी लगायतका जिल्ला प्रभावित हुने विज्ञहरुको भनाइ छ ।
सरकार सँग एक्लैटी संझौता गरेको डाइनेष्टिक कम्पनीले स्थानीय जनताको पटक पटकको आन्दोलन र दवावका कारण धरै पटक संझौता समेत गर्दै आएको छ । कम्पनीले संझौता गर्ने तर कार्यान्वयन नगर्ने गरेका कारण आजित बनेका स्थानीय वासीन्दाहरु चुनढुङ्गा उत्खनन सदाको लागि बन्द गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिएको बताउछन् ।
नरपानी बचाउ अभियान लिएर आन्दोलित भएका उनीहरुले पदम के सी को अध्यक्षतामा ९१ सदस्यीय संघर्ष समिति निर्माण गरी छिमेकी गा.वि.स का टोल टोलमा पुगेर उपसमिति समेत बनाएर आन्दोलनमा उत्रिएका हुन् । चुनढुङ्गा उत्खननबाट जिल्लाले ठूलो सास्ती ब्यहोर्नु परेको भन्दै स्थानीय ६ गा.वि.स ले गाउँ परिषद्बाट सदाका लागि चुनढुङ्गा उत्खनन बन्द गर्नुपर्ने प्रस्ताव समेत पारीत गरेका छन् ।
उत्खनन बन्द गर्नुपर्ने भन्दै माग राख्ने गा.वि.स मा नरपानी, खाँचीकोट, सितापुर, सुवर्णखाल, जुकेना र ढाकावाङ्ग छन् ।
चुनढुङ्गा उत्खननको विषयमा जिल्लामा हालसम्म पनि एकरुपता कायम हुन नसकेको अबस्था छ । एउटा सानो झुण्ड जो खाइपल्केको छ त्यो यथाबस्थामै खानी संचालन गर्नदिने पक्षमा छ भने ए.माओवादी, नेपाली कांग्रेस र एमालेको जिल्ला नेतृत्व जिल्लालाई फाइदा हुनेगरी खानी संचालन गर्नदिने पक्षमा देखिएको छ । जिल्लामा क्रियाशिल दल नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा भने चुनढुङ्गा उत्खनन बन्द गर्नुपर्ने पक्षमा उभिएका छन् । चुनढुङ्गा उत्खन्न जिल्लाको लागि घातक रहेको बताउदै जवर जस्ती खानी संचालन गरिए प्रतिकार मा उत्रने दुवै दलका नेताहरुको भनाई छ ।
रमणिय तथा पर्यटकिय स्थल नरपानीको संरक्षण गर्न नसके पछिल्ला पुस्ताले धिक्कार्र्ने बाताउदै सदाका लागि खानी बन्द गर्नुपर्ने माओवादी जिल्ला सेक्रेटरी भेषराज भुसालले बताए ।
कम्पनीले जबर जस्ती गरेर खानी संचालन गर्न खोजे जनता चुप लागेर नबस्ने राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर वि.सी ले वताए । प्राकृतिक साधन र श्रोतमा स्थानीय जनतको पूर्ण स्वामित्व हुने भन्दै कुनैपनि हालतमा खानी संचालनमा आउन नसक्ने उनको धारणा छ ।
यता कम्पनीले भने आगामी केही महिना भित्रमा खानी संचालन गर्ने उद्देश्यले स्थानीय बासिन्दाहरुलाई ललाई फकाई गर्नका लागि वृक्षारोपण गर्न थालेको छ । कम्पनीले केहि महिना यता खाँचीकोट गा.वि.स बाट हाल चुनढुङ्गा उत्खनन गर्दैै आएकोमा विभिन्न जालजेल र षडयन्त्र गरी नरपानीबाट समेत चुनढुङ्गा उत्खनन गर्ने योजना बनाउन थालेको स्थानीय बासिन्दाको आरोप छ । कम्पनीका केही कर्मचारीहरु जिल्ला स्थित राजनैतिक दल, नागरिक समाज, र केही टाठा बाठा स्थानीय बासिन्दालाई फकाई फुलाई गर्ने षडयन्त्रमा लागेको चुनढुङ्गा उत्खनन विरोधी आन्दोलनका एक अगुवाले बताए ।