काठमाडौं, श्रावण २२ । गुण्डा नाइके चरी मारिएकोप्रति धादिङबाट निर्वाचित एमाले सभासद् तथा नेताहरुले संसदमा हंगामा गरेका छन् । संसदको आज बसेको वैठकमा धादिङका एमाले सभासद्हरु राजेन्द्रप्रसाद पाण्डे, गुरु बुर्लाकोटी, गंगालाल तुलाधर लगायतले चरीको गैरन्यायिक हत्या भएको भन्दै आक्रोश ब्यक्त गरेका हुन् ।
उनीहरुले काठमाडौंका प्रहरी प्रमुखलाई निलम्बन गरी छानविन नगरे सदन चल्न नदिने धम्की समेत दिएका छन् । यता, गृहमन्त्री बामदेव गौतमले गुण्डा नाइके दिनेश अधिकारी चरी मारिएको घटनाको छानविन गर्ने आश्वासन दिएका छन् ।
आज विहान गृहमन्त्री निवास पुल्चोक पुगेका धादिङ्का सभासद र चरीका परिवारका सदस्यलाई गृहमन्त्री गौतमले घटनाबारे छानविन गर्ने आश्वासन दिएका हुन् । त्यसक्रममा परिवारका सदस्यहरुले नियोजित ढंगले चरीको हत्या भएको भन्दै उनको शव नउठाउने बताएका थिए ।
चरी उपनामले चिनिने गुण्डा नाइके दिनेश अधिकारी हिजो प्रहरी कारबाहीमा मारिएका हुन् । हत्या अभियोगमा लामो समयदेखि खोजी गरिएका चरी हिजो साझ काठमाडौंको भीमढुंगामा प्रहरीसंगको मुठभेडमा मारिएका हुन् ।
चरी मोटर साइकलमा धादिङतर्पm जाँदै गरेको बेला आफुहरुले पिछा गरेको र उनले मोटरसाइकलबाट ओर्लिएर गोली प्रहार गर्न खोजेपछि जवाफी कारबाही गरेको प्रहरीले जनाएको छ । प्रहरीले चरीको हत्या नियोजित भन्ने आरोपको समेत खण्डन गरेको छ । चरीको साथबाट प्रहरीले एउटा पेस्तोल र गोलीको खोका बरामद गरेको छ । चरीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । IMAGEKHABAR