इराकमा नयाँ प्रधानमन्त्रीको नेतृत्वमा सरकार बनाउने राष्ट्रपति मासूमको कदमप्रति अमेरिकाको समर्थन

श्रावण २७ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा नयाँ प्रधानमन्त्रीको नेतृत्वमा सरकार बनाउने राष्ट्रपति फौद मासूमको कदमप्रति समर्थन जनाएका छन् ।
हालै भएको संसदको निर्वाचनमा पूर्ण बहुमत ल्याएर पनि सरकार गठन गर्न नपाएकामा प्रधानमन्त्री नूरी अल मलिकी रुष्ट भएकै समयमा त्यहाँका राष्ट्रपति मासूमले संसदका उपसभामुखको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गरेका छन् ।
यो पहलकदमीलाई ओबामाले समर्थन गर्दै द्वन्द्वग्रस्त इराकमा यस कदमले नयाँ आशा जगाएको प्रतिक्रिया दिए । उपसभामुख हैदर अल अबादीको नेतृत्वमा सबै पक्षको सहभागिता रहने गरी नयाँ सरकार बनाउने पहल राष्ट्रपतिले थालेका हुन् ।
तर नूरी अल मलिकीले भने राष्ट्रपति मासूमको कदमलाई असंवैधानिक भन्दै आपत्ति जनाएका छन् । इस्लामिक राज्य बनाउने अभियानमा इस्लामिक लडाकूले उत्तरी इराकको अधिकांश भूभाग नियन्त्रणमा लिएका बेला इराकमा नयाँ संकट आएको हो । AGENCIES