काठमाडौं, श्रावण २७ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कोइरालाले एकलौटी सरकारको जस्तो व्यवहार गरेको गुनासो गरेका छन् ।
पार्टी मुख्यालय बल्खुमा आजदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकमा बोल्दै उनले हाराहारीकै शक्तिलाई प्रधानमन्त्री कोइरालाले सहयोगीको जस्तो व्यवहार गरेकाले कांग्रेस शीर्ष नेतृत्व तहमा छलफल गरिने बताएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
तर, एमाले वर्तमान सरकारको विकल्प खोज्ने पक्षमा भने नरहेको उनको भनाइ थियो । यही सरकारले नै माघ ८ गतेभित्र संविधान जारी गर्नुपर्छ भन्नेमा एमाले प्रतिबद्ध रहेको भन्दै ओलीले सरकार परिवर्तनको हल्ला निराधार भएको बताएका थिए ।
केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी र पोलिटब्यूरोको निर्वाचन, नेताहरुको वरीयताक्रम निर्धारण, कार्यविभाजन, बैठक सञ्चालन प्रणाली, विधान संशोधन प्रकाशन प्रतिवेदन, आचारसंहिता प्रतिवेदन लगायत बैठकका एजेन्डा रहेका छन् । IMAGEKHABAR