देशभर अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी १० जनाको मृत्यु, जनधनको ठूलो क्षति

काठमाडौं । दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी १० जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार जनधनको ठूलो क्षति भएको छ ।
ललितपुर पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने अर्का एकलाई भलले बगाएको छ । कालेश्वर ५ मा पहिरोमा पुरिरर करिव २०/२१ वर्षका सोनाम घलान र १८ वर्षकी ललिता घलानको मृत्यु भएको छ ।
पानी परेपछि घर छेउको ठाडो खोल्सीमा आएको भल बारीमा लगाउने खोज्दा उनीहरुलाई पहिरोले पुरेको थियो । प्रहरी टोलीले उद्धार गर्ने क्रममा दुईको शव भेटिएको ललितपुर प्रहरीका प्रवक्ता डीएसपी पवन गिरीले जानकारी दिए ।
यस्तै भट्टेडाँडा-३ को तनपाने भञ्ज्याङ गि्रनचुलीमा भलले बगाएर २५ वर्षका दिपक लोको मृत्यु भएको छ । दिउँसो साढे १ बजेतिर भलले बगाएका उनको शव प्रहरीले करिव ३ घन्टापछि फेला पारेको छ ।
त्यस्तै जाजरकोट, सिन्धुली, उदयपूर र सिराहामा गरि थप ७ जनाको ज्यान गएको छ । बाढीले बगाएर दुईजना बेपत्ता भएका छन् ।
यसैबीच रौतहटमा बागमती नदीले निरन्तर कटान गर्दा नदी किनाराका बस्तीहरु उच्च जोखिममा छन् । त्यहाँको मध्यधार भन्ने टापुका बासिन्दा जोखिममा परेपछि उनीहरुलाई उद्दार गर्न जान खोजेको हेलिकोप्टर समेत फर्किएको छ ।
भिजिबिलिटी नपुगेको भन्दै हेलिकोप्टर जान नसकेपछि स्थानीय प्रशासनलाई अन्य उपाय लगाएर बासिन्दाको ज्यान जोगाउन निर्देशन दिइएको छ । सिराहा र जाजरकोटमा पनि हेलिकोप्टर लगेर उद्दार गर्न खोजिएको तर हेलिकोप्टर जान नसकेको गृहमन्त्री बामदेव गौतमका प्रेस संयोजक विश्वमणी सुबेदीले जानकारी दिए ।
यद्यपी कुनै पनि बेला ठूलो बिपत्ति आउने सम्भावना भएकाले सेना र प्रहरीका हेलिकोप्टरलाई तयारी हालतमा राखिएको गृहमन्त्रालयले स्रोतले जनाएको छ । भारी वर्षातका कारण देशका कुनै पनि ठाउँमा हेलिकोप्टर उड्न नसकेकाले उद्दारको कार्य प्रभावित भएको छ ।
तराइका धेरै जिल्लाका बस्तीमा बाढी पसेर बस्ती डुबाउनुको साथै सयौं हेक्टर खेती समेत डुबाएको छ । कमला, रतुवा, रातु लगायतका नदीले महोत्तरी, धनुषा,सिराहामा क्षति पुर्‍याएको छ । 
स्रोत: नेपाली संचारमाध्यम