पश्चिम नेपाल वर्षाले प्रभावित, रुकुममा घर भत्किंदा एकै घरका दुईको मृत्यु, दुई घाइते

रुकुम, श्रावण ३० । रुकुमको चुनवाङ ८ बस्ने नन्दराम घर्तीको घर भत्किँदा उनका छोरा विजय र छोरी विमलाको मृत्यु भएको छ भने छोरी पूर्णिमा र पाहुना कमला मल्ल घाइते भएक छन् । राप्ती लोकमार्गअन्तर्गत विभिन्न ठाउँमा पहिरोले बाटो अपरुद्ध हुँदा रुकुमबाट सल्यान, दाङ, काठमाडौं जाने कुनै गाडी चल्न सकेका छैनन् ।
यसैगरी, स्यालापाखा गाविस बतासेडाँडामा पहिरोले हिरालाल बस्यालको घर पुरिएर उनकी छोरी १० वर्षीया कल्पना बस्यालको मृत्यु भएको छ । घाइते पाँच वर्षीय छोरा प्रकाशको स्वास्थ्य चौकी धपेमा उपचार भइरहेको छ ।
रुकुमकै पूर्तिमकाँडा खागलका पहलभान बोहराको घर उच्च जोखिममा परेको छ । वर्षाका कारण राप्ती राजमार्गका अन्तर्गत रुकुमखण्डका विभिन्न ठाउँमा पहिरोले बाटो अवरुद्ध पारेको छ ।
दाङको सतबरिया गाविस वडा नं ७ विजुलीपुरमा विन्तिराम चौधरीको घर भत्किँदा उनकी बुहारी लक्षिमा र छोरा मानपती घाइते भएका छन् ।
त्यस्तै, सतबरिया च्याउ खोला र सतबरियाकै अमिलियामा पहिरो जाँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । – IMAGEKHABAR