ढिकुरा गाविस वडा नं:- ६ मा पर्ने सिद्धे गुफा ।
अर्जुन भुसाल
ढिकुरा, अर्घाखाँची भदौ २ । धार्मिक तथा पर्यटकीय दृष्टिले नजिक रहेको जिल्लाको ढिकुरा गाविस वडा नं:- ६ मा पर्ने सिद्धे गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । गुफाको संरक्षणमा र प्रचारप्रसारमा विशेष पहल गर्ने हो भने पर्यटकीय गन्तव्य बन्ने प्रशस्तै संभावनाहरु रहेको स्थानिय बताउँछन् । सदरमुकाम सन्धिखर्कदेखि १० किलो मिटर दक्षिण क्षेत्र चरेपानीमा भन्ने स्थानमा गुफा रहेको छ । विभिन्न धार्मिक ग्रन्थहरुमा यस गुफालाई रामले रावणलाई छल गरेको ठाउँको रुपमा पनि उल्लेख गरिएको स्थानियको भनाइ छ ।
गुफासम्म जानको लागि सडक नहुँदा आन्तरीक पर्यटक पनि खासै जाने गरेका छैनन् । एकापट्टीको डाँडाबाट भित्र छिरेपछि अर्को पट्टी निस्कदा पुरै एउटा डाँडोनै छिचोल्न सकिने अवस्थामा रहेको गुफाको पुर्व पट्टीको भागमा खोला र पश्चिम पट्टी गाउँ रहेको छ । गुफाको शिरमा सिद्धको मन्दिर रहेको हुँदा यस गुफाको नाम पनि सोहि मन्दिरको नामबाट सिद्ध गुफा राखिएको स्थानिय बताउँछन् । यस क्षेत्रले पर्यटकीय संभावना बोकेपनि स्थानिय निकायबाट कुनै पहल नभएको उनीहरुको भनाइ छ । यसको प्रचारप्रसार गर्न ढिकुरा गाविस वडा नं. १ का गोपाल प्रसाद घिमिरेको पहलमा स्थानिय एकजुट भइ संरक्षण र प्रचारप्रसारमा जोड दिनको लागि सिद्ध गुफा संरक्षण समितिको गठन गरिएको छ ।
०७० फागुनमा सिद्ध गुफा संरक्षण समिति गठन गरेर यसको संरक्षणमा लागेको समितिका अध्यक्ष नारायण पौडेलले बताए । गुफा संरक्षणको लागि क्षेत्रीय पर्यटन वोर्ड भैरहवाबाट सात लाख रुपैयाँ विनियोजन भएको छ । जुन रकमले गुफा सम्म जानका लागि ५० ओटा सिडी निर्माण गरिएको छ । यहाँ गेट, भ-याङ्ग निर्माण गर्नुका साथै गुफा भित्र बिजुली पनि लगिएको छ । बाँकी संरचना निर्माण गर्न आर्थिक अभाव भएको समितिका अध्यक्ष पौडेलले बताए । उनले भने, यतिका ठुलो ऐतिहासिक, धार्मिक तथा पर्यटकीय ठाउँमा वजेट अभावले यसको संरक्षण गर्न समस्या उत्पन्न भएको छ । एक किलोमिटर सडक निर्माण गर्न सके गुफासम्म जान सहज हुन्छ । सिद्ध गुफाको प्रचार प्रसार र संरक्षणमा गाविस र जिविसले पनि आवश्यक सहयोग उपलव्ध गराइ दिनुपर्ने स्थानिय बताउँछन् । स्थानिय सुरज रायमाझीले यसको महत्व उजागर गरि प्रचार प्रसार गर्न सकेमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताए । पर्यटकीय क्षेत्र बनाउन सक्ने थुप्रै आधारहरु छन उनी भन्छन, यसमा गाविस, र जिविसले वजेट विनियोजन गर्नुपर्छ ।
गुफा भित्र आश्चर्यजनक
गुफा भित्र पस्दा चिसो हावा र तप-तप पानी चुइ रहने हुँदा गर्मीयाममा समेत बाक्ला लुगा नलगाइ भित्र जान सकिदैन । यहाँ विभिन्न देवी देवताका आकृतिहरु प्रशस्त रुपमा देख्न सकिन्छ । झण्डै ४ सय मिटर भूभागमा फैलिएको गुफा भित्र ३ ओटा तलाहरु रहेका छन् । पहिलो तलामा विभिन्न मुर्तिहरु र आकृतिहरु अवलोकन गर्न सकिन्छ । बीच तलामा पुगेपछि विभिन्न आकृतिहरु सिलिङ्गको दर्शन गर्न पाइन्छ । जुन ठाउँमा ढुङ्गाको आसन माथि शिवलिङ्ग र त्यस माथि तप-तप पानी चुहिन्छ । उपल्लो तलमा सर्पको आकृतिहरुले आश्चर्य चकित बताइदिन्छ । तेस्रो तलालाई चमेराहरुले बासस्थान बनाएका छन् ।