परदेशीको (गज़ल)

 कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका 
**********
चाड पर्व नजिकिंदा,आँसु आउँछ परदेशीको
आँगनीमा पिडा मात्रै,सल्बलाउँछ परदेशीको
जताततै घाउ लाग्यो,वियोगले पोल्दा सधैँ
छाती भित्र व्यथै व्यथा,दन्दनाउँछ परदेशीको
छचल्किछन् यादहरू,समुन्द्रका छाल जस्तै
भकानुले अनुहारै,सुँकसुँकाउँछ परदेशीको 
खपेको छ शीत,ताप,भोक,प्यास जैले पनि
वेदनाले धैर्यता नै,लड्खडाउँछ परदेशीको
बाध्यता र विवशताले,कुटेकाछन् निरन्तरै
चोट लाग्दा हृदय यो,छट्पटाउँछ परदेशीको
आफ्नू भन्नु कोही छैन,अपरिचित संसारमा 
चित्त दुख्छ बारम्बारै,को सम्झाउँछ परदेशीको ?
बिर्से होलान् साथी सँगी,बन्धु बान्धव,आफन्तले
माया दया गर्दै कस्ले,गीत गाउँछ परदेशीको?
मान्छे यहाँ बसे पनि,हंस पुग्छ नेपालमै 
हाँस्न पाउन् नेपालीले,मन् रमाउँछ परदेशीको