काठमाडौं , आश्विन १० – बडादसैंको पहिलो दिन बिहीबार हिन्दु धर्मावलम्बीहरूले आ-आफ्नो घरको पूजाकोठा वा दसैंघरमा घटस्थापना र जमरा राखी दुर्गा भवानीको पूजा आराधना गरे।
हनुमानढोकाको दसैंघरमा पनि घटस्थापना गरियो। यसै दिनदेखि नवमीसम्म प्रत्येक दिन बिहान कुनै एउटा तीर्थमा गई स्नान गर्नुका साथै शक्तिपीठमा पूजा आराधना गरी नजिकको शिवलिङ्गमा अर्घ दिने परम्परा छ।
दसौं दिन विजयादशमीमा गुह्येश्वरी माईको पूजाअर्चना गरी नवरात्रि मेला समापन गरिन्छ। नौ दिनसम्म सञ्चालन हुने भएकाले यस मेलालाई नवरात्रि भन्ने गरिन्छ। यस मेलाको पहिलो दिन बिहीबार पाटनको शंखमूलस्थित शंकर तीर्थमा स्नान गरी सिकःक बहीमा महालक्ष्मी (चामुनदादेवी) को पूजाअर्चना गरी त्यसै नदीको किनारमा रहेका महादेवलाई अर्घ दिए। साथै अरू विभिन्न शक्तिपीठहरूमा पनि बिहानदेखि भक्तजनको घुइँचो लागेको थियो।
पञ्चाङ्ग निर्णायक समितिले यसपालि महानवमी र विजयादशमी एकै दिन असोज १७ गते शुक्रबार परेकाले महानवमीको कार्य समाप्त गरेपछि मात्र विजयादशमीको प्रारम्भ गर्नुपर्ने भनेका छन्। समितिले विजयादशमी देवी विसर्जन बिहान ९ बजेर ५५ र टीकाको साइत बिहान १० बजेर १५ बजे हुने जनायो। दसैंकै अवसरमा १३ गते सोमबार पचली भैरवको जात्रा गर्न पचली भैरवको मूर्ति जडित घ्याँपोलाई सिंगारपटार गर्न बाजागाजासहित राति इनाखाटोलबाट क्विहटीस्थित चित्रकारको घरमा पुर्यायो। दसैंभरि चङ्गा उडाई रमाइलो गर्ने र मालश्री राग गाउने चलन छ।
हिन्दुधर्म संस्कृतिअनुसार घन्टकलशमै सम्पूर्ण देवीदेवता, सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित भएको मानिन्छ। संस्कृतिविद् हरिराम जोशीका अनुसार यो चाड नेपालमा १३ औं वा १४ औं शताब्दीदेखि प्रचलनमा छ। EKANTIPUR