काठमाडौं । सरकारले बाढी पहिरो पीडितहरुलाई दसैं, तिहार, छठ लगायतका चाड पर्व मनाउन खर्च दिने भएको छ ।
केन्द्रीय दैवि प्रकोप उद्दार समितिले प्रत्येक बाढी पहिरो पीडितलाई पर्व खर्चको लागि प्रतिपरिवार ३ हजार रुपैयाँ दिने निर्णय गरेकोे सिंचाइमन्त्री एनपी साउदले जानकारी दिए ।
राष्ट्रपति डा. रामवरण यादवले गत हप्ता बाढी पहिरो प्रभावित क्षेत्रका जनताहरुसँग भेटेर फर्किएपछि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गरेका थिए ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री साउदले प्रति बाढी पहिरो पीडितलाई दिँदै आएको ३५ रुपैयाँलाई बढाएर असोज महिना भरीको लागि प्रतिदिन ५० रुपैयाँ दिने निर्णय गरिएको बताए । बाढी पहिरोबाट विस्थापितहरुको पुनःस्थापना र पुनर्बासको प्याकेजको तयार भइरहेको भन्दै उनले अहिलेसम्म बाढी पीडितलाई १६ करोड रुपैयाँको राहत वितरण गरिसकिएको जानकारी दिए ।
बाँके, बर्दीया, सुर्खेत, मुगु र दाङ लगायत विभिन्न क्षेत्रमा १० हजार घर पूर्ण क्षती भएको र २५ हजार आंशिक क्षतिग्रस्त बनेको तथ्याङक प्रस्तुत गर्दै सिंचाइमन्त्री साउदले यसबाट १३ अर्ब बढीको संरचना समेत नोक्सानी भएको बताए । ONLINEKHABAR