धादिङ- दसैंमा घर फर्कने यात्रु बोकेका सवारीसाधनको चाप बढेसँगै नौबिसे-नागढुंगा सडक फेरि जाम हुन थालेको छ। २० मिनेटको बाटो छिचोल्न चार घन्टाभन्दा बढी पर्खिनुपर्दा यात्रुलाई सास्ती छ।
नौबिसे-नागढुंगा दुरी जम्मा १० किलोमिटर छ। तर, जाम नघट्दा नैकापदेखि-नौबिसेसम्म जतिखेरै गाडीको लाइन टुट्दैन। दसैंका बेला पहिलेभन्दा बढी गाडी चल्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीले सडक बिगार्दा जाम हुने गरेको ट्राफिक प्रहरी पोस्ट खानीखोलाका सहायक निरीक्षक सुरेन्द्र कोइराला बताउँछन्। ‘त्यसमाथि चालक जथाभाबी ओभरटेक गरेर बाटो छेक्छन्। एउटै सवारी बीच सडकमै बिग्रिँदा अरूले पनि मार खेप्नुपर्छ,’ उनले भने। पहिले मोटरसाइकलबाहेक दैनिक ३५ सय हाराहारी सवारीसाधन गुड्ने बाटोमा अहिले ४५ सय बस तथा त्यति नै संख्यामा मालवाहक सवारी राजधानीबाट बाहिरिने गरेको नागढुंगाका ट्राफिक प्रहरी नायब निरीक्षक कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यो खण्डमा यात्रुलाई खाना खुवाउने व्यवस्थित होटलसमेत छैनन्। गाडीको जाम लागेसँगै उक्त क्षेत्रमा झोलामा पानी, चाउचाउ बोकेका झोले व्यापारीको भिड लागेको छ। तर, उनीहरूले यात्रुसँग तोकिएभन्दा तेब्बर मूल्य असुल्ने गरेका छन्।
सडकले थेग्न नसक्ने गरी ढुवानी सामग्री बोकेका टेलर र भारतीय सवारीसाधन पनि जामका कारण रहेको प्रहरी बताउँछ। अधिक भारका कारण यी सवारीसाधन नागढुंगाको उकालोमा सडक ओगटेर सुस्त गतिमा गुडिरहेका देखिन्छन्। कतिपय तान्न नसकेर बीच सडकमै थन्कन्छन्। ‘शुक्रबार बिग्रिएका टेलर आइतबार पार लगाइयो, आइतबार बिहान मात्रै पनि बीच सडकमा बिग्रिएका सातवटा ट्रकले समस्या पारे,’ पौडेल बताउँछन्।
मर्मतसम्भार गर्दागर्दै पूरा नभएको स्थान र ढलान गर्नुपर्नेमा कालोपत्रे गरेर छाडिएको सडक डेढ महिना नबित्दै भ्वाङ परेको छ। जाम खुलाउन नौबिसेमा डोजर र पिपलमोडमा क्रेन स्ट्यान्डबाई राखिएको छ। तर, १० टनका सवारीसाधन मात्र तान्ने क्षमताका यी साधनले ४०