काठमाडौ – विजयादशमीका उपलक्ष्यमा राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री सुशील कोइरालाले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिएका छन् ।
तीनै जनाले समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति डा यादवले शुभकामना सन्देश दिँदै वर्षभरि आइरहने जाड र जात्रा नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लेख गर्दै यिनले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई आपसमा जोड्न सम्बन्ध सूत्रको काम गरेको जनाएका छन् ।
उनले यस क्षणमा देशका विभिन्न भागमा आएको प्राकृतिक विपत्तिजन्य प्रकोपका कारण जीवनयापन कष्टमय भएका परिवारप्रति सहभाव व्यक्त गर्दै उनीहरूको दैनिक गुजारा सहज तुल्याउने र जीविकाको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्न सबैसँग आग्रह गरेका छन् ।
राष्ट्रपतिले जनताले अपार उत्साह प्रदर्शन गरी चयन गरेको दोस्रो संविधानसभाले निश्चित अवधि किटान गरेर संविधानको मस्यौदा तयार पार्न दर्साएको क्रियाशीलतालाई कायम राखी आफ्ना कबुल पूरा गर्न सबै दलमा आग्रह गरेका छन् ।