काठमाडौं, आश्विन २३ । आज अक्टोबर ९ तारिख अर्थात् विश्व हुलाक दिवस । विश्वभर विभिन्न कायक्रम गरी विहीबार १४०औं विश्व हुलाक दिवस मनाइएको छ ।
दिवसकै अवसरमा गोश्वरा हुलाकले नारायणहिटी दरबार संग्रहालय, नेपाल स्काउटको हिरक महोत्सव, चोयु हिरक महोत्सव र रिडीको ऋषिकेश मन्दिरको चित्र अंकित चारओटा हुलाक टिकट प्रकाशन गरेको छ ।
विश्व हुलाक दिवसको अवसरमा हुलाकले राजधानीस्थित आफ्नै परिसरमा आयोजना गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले ती हुलाक टिकटहरुमा प्रथम दिवसीय टाँचा लगाएका थिए ।
कार्यक्रममा मन्त्री रिजालले परिवर्तित सञ्चार जगतमा हुलाकले पनि आफूलाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले हुलाकलाई परिवर्तित सन्दर्भमा पनि प्रभावकारी बनाउन नयाँ सेवाको खोजी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका सहभागी अन्य वक्ताहरुले पनि टेलिफोन र इन्टरनेटले सूचना र सञ्चारको क्षेत्रमा साम्राज्य नै खडा गरेको भन्दै आफ्नो अस्तित्वलाई जोगाइराख्न हुलाक सेवालाई पनि नयाँ प्रविधियुक्त बनाइनुपर्ने आवश्यक्तामा जोड दिएका थिए ।
विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा बृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यक्ता महशुस गर्दै सामाजिक, आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले सन् १८७४ को अक्टोबर ९ मा स्वीट्जरल्यान्डमा विश्व हुलाक संघको स्थापना भएको हो ।
नेपालले भने सन् १९५६ मा उक्त संघको सदस्यता लिएको हो । सोही वर्षदेखि नेपालमा विश्व हुलाक दिवस मनाउन थालिएको हो । IMAGEKHABAR