इजरायली आक्रमणबाट ध्वस्त भएको प्यालेष्टायनको पुनर्निर्माणका लागि ५ अरब ४० करोड डलर सहायता जुटाउन दाताहरु तयार भएका छन् ।
इजिप्टको राजधानी कायरोमा भएको एक सम्मेलनमा उक्त सहयोग जुटाउन अन्तर्राष्ट्रिय दाताहरु तयार भएका हुन् । नर्वेका विदेश मन्त्री बोर्गे ब्रेंडेले प्यालेष्टायन प्राधीकरणले चार अरब डलरको अपेक्षा गरेपनि त्योभन्दा निकै बढी रकम जुटाउने बाचा दाताहरुले गरेको जानकारी दिए ।
जुटेको सहायताको आधा रकम इजरायली हमास युद्धबाट ध्वस्त भएको गाजा शहर पुनर्निर्माणमा लगाइने उनले बताए । कतार एक्लैले एक अरब डलर दिने घोषणा गरेको छ ।
अमेरिकाले २१ करोड २० लाख डलर, यूएई र टर्कीले २०-२० करोड डलर उपलब्ध गराउने बाचा गरेका छन् । इजरायल र हमासबीच ५० दिनसम्म चलेको संघर्षमा कम्तिमा एक लाख गाजावासीको घर ध्वस्त भएको छ ।
सात हप्ता चलेको उक्त संघर्ष गएको अगस्त २६ बाट अन्त्य गरिएको हो । घटनामा २१ सयभन्दा बढी व्यक्ति मारिएको राष्ट्रसंघले जनाएको छ । मारिनेमा अधिकांस गाजाका सर्वसाधारण थिए । AGENCIES