कांग्रेसले तोकिएकै समयमा संविधान जारी गर्नको लागि अन्य दलसँग वार्ता प्रक्रियालाई तीव्रता दिने

काठमाडौं । नेपाली कांग्रेसले तोकिएकै समयमा संविधान जारी गर्नको लागि अन्य दलसँग वार्ता प्रक्रियालाई तीव्रता दिने भएको छ । नेपाली कांग्रेस संसदीय दलको शनिबार प्रधानमन्त्री निवास बालुवाटार बसेको बैठकमा सभासदहरुले यसपटक पनि संविधान नबने जनताबाट तिरस्कृत हुने भन्दै सहमतिको संविधान निमार्णमा पार्टी र सरकारले भूकिमा खेल्नुपर्नेमा जोड दिए ।
उनीहरुले सहमति नभए प्रक्रियामा गएर भए पनि संविधान जारी गर्नुपर्ने धारणा राखे ।
बैठकको सुरुमा प्रधानमन्त्री एंव संसदीय दलका नेता सुशील कोइरालाले अन्य दलसँग भएका वार्ता र छलफलका बारेमा सभासदहरुलाई जानकारी गराएका थिए ।
दलहरुबीच नमिलेका विषयहरु संघीय संरचना, न्याय प्रणाली, शासकीय स्वरुप र निर्वाचन प्रणालीजस्ता विषयमा कांग्रेसले ५ पृष्ठको आफ्नो अवधारणा पनि बनाएको नेताहरुले बताएका छन् ।
उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौलालेपनि दलहरुबीच नमिलेका विषयमा सभासदहरुलाई जानकारी गराएका थिए ।
सभासदहरुले भने सहमतिको लागि तोकिएको ५ दिनभित्र सहमतिको वातावरण बनाउन पार्टीले भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए ।
बैठकमा एमालेले सुकुम्बासी समस्या सामधान आयोगको दुरुपयोग गरेर जथाभावी आफन्तलाई जग्गा वितरण गरेकोमा सभासदहरुले चर्को विरोध गर्दे आयोग खारेजीको माग पनि गरेका छन् । IMAGEKHABAR