वीरेन्द्र केसी
– ६५ महिला र ६२ जना पुरुष एचभाईभी संक्रमित
– संक्रमित मध्ये धेरैजसो विवाहित महिला र पुरुष
– १० जना बालवालिका
– २५ जनाको मृत्यु भैसकेको
– सबैभन्दा धेरै हंसपुरमा ११ जना र ठाडा गाविसमा १२ जना
सन्धिखर्क, अर्घाखाँची । पैसाकै लागि श्रीमान भारत नगएको भए विपना थापा एचआईभी संक्रमित हुने थिईनन होला । अकालमै उनको श्रीमानको मृत्यु पनि हुने हुदैनथ्यो होला ।
भारतको रोजगार नै मृत्युको शिकार बन्यो, उनले भनिन, श्रीमान भारतबाट घर आउदा एचआईभी लिएर आउनु भएको रहेछ पछि मलाई पनि स-र्याे, अहिले म एचआईभी एड्सबारे सचेतना अभियान सञ्चालन गर्दै गाउँमा हिडेकी छु । उनको श्रीमान सहित धेरैजसो पुरुषले भारतबाट घर फर्कदा एचआईभी उपहार लिएर आएका छन त्यसपछि अरु मान्छेमा पनि सर्ने गरेको भेटिएको एचआईभी सम्बन्धी काम गर्ने संस्थाहरुले जनाएका छन । थापा अहिले प्रेरणा परियोजनामा काम गर्छिन । उसले छ वर्ष देखि एचभाईभी सम्बन्धी जिल्लामा काम गर्दै आएको छ । अरुलाई एचभाईभी नसरोस भनेर जनचेतना अभियान चलाएकी छु, उनले भनिन, तरपनि संक्रमित भेटिनेक्रम बढेका छन । उनले गाउँमा एचभाईभी भनेको के हो यो कसरी सर्छ जोगिने उपाय के हुन भनेर गाउँका महिलालाई सचेत बनाउदै हिडेकी छिन ।
उनी जस्ती पार्वता बञ्जाडेलाई पनि श्रीमानकै कारण संक्रमित भएकी हुन । भारतमा नोकरी गरेर घर आउदा श्रीमान संक्रमित भएर आएका थिए । उनी अहिले एचभाईभी संक्रमितहरुको संस्था सन्देश सहयोग समुहकी अध्यक्ष हुन । संक्रमितको अवस्था दयनीय छ, उनले भनिन, अझै पनि गाउँमा नराम्रो सोचले हेर्ने र उपेक्षा गर्ने भएकाले धेरै खुल्न सकेका छैनन् । समाजले हेलाको दृष्टिले हेर्ने भएकाले संक्रमितहरुको आर्थिक अवस्था कमजोर छ । विहान बेलुका छाक टार्न समेत धौ-धौ भएको उनले बताईन । संक्रमित हो भन्ने थाहा पाए समाजले फरक दृष्टिले हेर्ने गरेको छ । एचआईभी संक्रमितको संख्या जिल्लामा १ सय २७ पुगेको छ । छ वर्षको अवधीमा ६५ महिला र ६२ जना पुरुष एचभाईभी संक्रमित भेटिएका हनु । संक्रमित मध्ये धेरैजसो विवाहित महिला र पुरुष छन । जसमध्ये १० जना बालवालिका भेटिएका छन ।
जिल्लामा संक्रमितको संख्या वर्षेनी बढिरहेको छ । शुरुमा २३ जना भेटिएका थिए तर पछिल्लो पटक गाउँमा रक्त परीक्षण पछि संक्रमतिको संख्या वर्षेनी बढ्दो मात्रमा भेटिएको जिल्ला एड्स समन्यव समितिले जनाएको छ । जिल्लामा ग्लोबल फण्ड र नेपाल परिवार नियोजन संघको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा एचआईभी सम्बन्धी काम गरिरहेका प्रेरणा परियोजना र सक्रिय सेवा समाजले गाउँमा पुगेर रक्त परीक्षणबाट १ सय २७ जना संक्रमित फेला परेका हुन । जसमध्ये ६४ जनाले एआटी औषधी खाने गरेका छन ।
बालवालिका १० जना छन, सक्रियका संयोजक बालकृष्ण खत्रीले भने, २५ जनाको मृत्यु भैसकेको छ । जिल्लामा संक्रमितको संख्या बढ्दो छ । सक्रिय र प्रेरणाले गरी करिब १३ हजार सर्वसाधारणसँग रक्त परीक्षण गर्दा १ सय २७ भेटिएका हुन, उनले भने, गाउँमा गृहणी र गर्भवतीले मात्रै परीक्षण गरिएका छन धेरैजसोले रक्त परीक्षण गर्न मान्दैनन् त्यसैले पनि संख्या धेरै हुन सक्छ ।सबैभन्दा धेरै हंसपुरमा ११ जना र ठाडा गाविसमा १२ जना भेटिएको खत्रीले बताए । यो संख्या अझै बढेर जाने संभावना रहेको खत्रीको दावी छ ।
एचआईभी संक्रमित थाहा पाउनको लागि सन्धिखर्क, पोखराथोक र ठाडामा स्वच्छिक परामर्श तथा रक्त परीक्षण केन्द्र खोलिएका छन । २५ जना संक्रमित सार्वजनिक भएका छन भने अरु खुल्न चाहेका छैनन् । संक्रमित समाजमा हुने भेदभावले गर्दा खुल्न सकेका छैनन् । परीक्षण गराउन आउनेको संख्या वृद्धि हुदै गएकाले संक्रमति पनि बढेका हुन । धेरैजसो बजारमा बस्ने महिला र विदेशबाट घर आउँदा श्रीमान संक्रमित भएर आउने गरेकाले संख्या बढदै गएको प्रेरणाका संयोजक सुनिल अधिकारीले बताए । ६४ जनाले जिल्ला स्वास्थ्य कार्यालयबाट एआरटी सेवा लिएका छन । गाउँमा क्याम्प राखेर रक्त परीक्षण गराउन धेरैजसो आउन मान्दैनन, उनले भने, त्यसैले संख्या धेरै हुन सक्छ । एचआईभी एड्स यौन सम्पर्कबाट मात्रै नभएर रगतको माध्यमबाट पनि सर्छ ।
गाउँमा सचेतना अभियान सञ्चालन गरिएको छ । जिल्लामा विभिन्न गोष्ठी अन्तरक्रियासँगै महिला र पुरुषलाई एचआईभी एड्सबारे जानकारी दुई सस्थाले गर्दै आएका छन । रोकथामको लागि पुरुष र महिला दुवैलाई गाउँ वस्तीमा पुगेर यौन सम्पर्क गर्दा अनिवार्य कण्डमको प्रयोग गर्न सल्लाह दिएर भरसक एक जनासँग मात्र यौन सम्बन्ध राख्न सुझाव र कण्डम वितरण गर्दै जनचेतना अभिवृद्धि गरिएको अधिकारीले बताए ।