सरकारले जनताका समस्याप्रति कुनै चासो नदेखाएको सभासदहरुले आरोप

काठमाडौं, कार्तिक ३ । सरकारले जनताका समस्याप्रति कुनै चासो नदेखाएको सभासदहरुले आरोप लगाएका छन् । व्यवस्थापिका संसदको सोमबार बसेको बैठकमा बोल्दै उनीहरुले जनताले दैनिक भोग्दै आएका समस्याप्रति सरकार मौन रहेको भन्दै सरकारको कडा आलोचना गरे ।
नेपाली कांग्रेसका सभासद धनराज गुरुङले विदेशस्थित कूटनीतिक नियोगहरुलाई व्यवस्थित तथा चुस्त बनाउन माग गरे ।
सन् २०१५ नोभेम्वर २४ सम्ममा एमआरपी अनिर्वाय लागू गर्नुपर्ने भएपनि अहिले पनि १५ लाख नेपालीसँग हस्तलिखित राहदानी रहेको भन्दै सभासद गुरुङले अबको  १३ महिनामा ती एमआरपी बनाउनु निकै चुनौतीपूर्ण भएको बताए । पाँचै विकास क्षेत्रबाट एमआरपी वितरणको व्यवस्था मिलाउन पनि उनले माग गरे ।
यस्तै, एमाले सांसद विनोद श्रेष्ठले जनक शिक्षा साम्रगी केन्द्रले अस्थायी कर्मचारीलाई षड्यन्त्रपूर्वक निकालेको भन्दै ती कर्मचारीहरुको तत्काल पुनःर्बहाली गर्न माग गरे ।
त्यसैगरी, संघीय समजवादीका अशोक राईले विद्युत व्यापार सम्झौता र विद्युत विकास सम्झौताबारे संसदमा जानकारी दिन माग गरे ।
त्यस्तै, सभासद गौरा प्रसाइँ कोइरालाले महिला हिंसाका घटना बढिरहेको भन्दै पीडकहरुलाई कडा कारबाही गर्नुपर्ने माग गरे ।
बैठकमा श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङले अन्तर्राष्ट्रिय श्रम सम्मेलनबाट पारित अभिसन्धि तथा सुझावहरु पेश गरेका थिए ।
यसैबीच, गत साता बाराको सिम्रौनगढमा भएको गोलीकान्डको छानबिनका लागि संसदीय समिति गठन गरिएको छ ।
समितिमा सुरेन्द्रप्रसाद यादव, राजन भट्टराई, प्रभु साह, विजयकुमार सिंह, रेशमबहादुर लामा, अइन्द्र सुन्दर नेम्वाङ र अतहर कमाल मुसलमान सदस्य रहेका छन् ।  IMAGEKHABAR