काठमाडौं, कार्तिक १२ । व्यवस्थापिका संसदअन्तर्गतको आपूर्ति व्यवस्था तथा उपभोक्ता हीत उपसमितिले सार्वजनिक यातायातको भाडा तत्काल नबढाउन निर्देशन दिएको छ ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयको सहमतिमा यातायात व्यवसायीहरुले यही कार्तिक १५ गतेदेखि सार्वजनिक यातायातको भाडा बढाउने तयारी गरिरहेको बेला संसदीय समितिले तत्काल भाडा नबढाउन सरकारलाई निर्देशन दिएको हो ।
उपसमितिको बुधबार बसेको बैठकले भाडा बढाउन दिने श्रम तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय अवैज्ञानिक र असान्दर्भिक रहेको भन्दै भाडा नबढाउन निर्देशन दिएको हो ।
उपसमितिका अध्यक्ष सुवासचन्द्र शाही ठकुरीको अध्यक्षतामा बसेको बैठकले विस्तृत अध्ययन र प्रक्रिया पूरा गरेर मात्र भाडा बढाउन पनि भनेको छ ।
व्यवसायीहरुले सार्वजनिक यातायातको भाडा कम्तिमा ७ प्रतिशतदेखि बढाउने तयारी गरेका छन् ।
Imagkhabar