प्यारो लाग्छ

कोमल भट्ट
पुरानो नैकाप , काठमाडौँ
हाल:- रोचेस्टर, न्युयोर्क 
मलाई मेरो नेपाल र नेपाली नै प्यारो लाग्छ 
तराईवासी,पहाडिया,हिमाली नै प्यारो लाग्छ ll   
लप्पन छप्पन छैन कुनै मुस्कुराउँछन् स्वच्छतामा 
बाँडेकाछन् सङ्लो माया,लेकाली नै प्यारो लाग्छ ll
कति मिठो हार्दिकता छ,उकाली र ओरालीको 
डाँडा,भन्ज्याङ्ग,चौतारी र देउराली नै प्यारो लाग्छ ll
बगेकाछन् नदी नाला,भ्रातृत्वको सन्देश छर्दै  
सप्त कोशी,गण्डकी र कर्णाली नै प्यारो लाग्छ ll
जान्दिन म क्यासिनोको रङ्गी चङ्गी खेला खेल्न  
आफ्नै पनका डण्डीबियो,बाघचाली नै प्यारो लाग्छ ll
के काम ती घमण्डले मात्तिएका धनी मान्छे 
बरु सीधा ‘कोमल’ मनका,कङ्गाली नै प्यारो लाग्छ ll