वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । चाहिएजति लैजानुहोस राखिएको बाकस भित्र परिवार नियोजनका अस्थायी साधन कण्डम राखिएको हुन्छ । यो जिल्ला स्वास्थ्य कार्यालयमा मात्रै पाईन्छ तर यहाँ अन्य सरकारी कार्यालयमा पनि बाकस भित्र कण्डम राखिएको छ ।
अर्घाखाँचीको जिविस कार्यालयमा राखिएको कण्डम सहितको बाकस । तस्बिर: वीरेन्द्र केसी, अर्घाखाँचीडट्कम, २०७१ कार्तिक २३
जिल्ला प्रशासन, जिविसमा पनि चाहिए जति लैजानुहोस र कण्डमको सही प्रयोग गरौ भन्ने बाकसभित्र प्रशस्त कण्डम राखिएपछि यसको खपत अत्यधिक भएको छ । कार्यालयको मुल गेटमा सुचना पाटी राखिएको छ । त्यसको छेउमै बाकसभित्र कण्डम राखिएको छ । गेटभित्र पस्नासाथ जो केहीले पनि देख्छन । बढी सेवाग्रहीको भीड हुने कार्यालयमा कण्डम धेरैले लैजाने गर्छन, जिल्ला जनस्वास्थ्य निरीक्षक शोभाखर पोखरेलले भने, बाकस कहिले एकै दिनमै रित्तिन्छ, खाली हुनासाथ राखिदिन्छौ । कण्डमको प्रयोग अविवाहित युवा देखी वृद्धसम्म र केही महिलाहरुले पनि आफनो सुरक्षाको लागि लैजाने गरेको उनले बताए । कण्डमबारे ज्ञान नभएकाले पनि यहीबाटै सिक्ने र बुझने गरेका छन ।
परिवारको नियोजनको अस्थायी साधन कण्डमको सही प्रयोग गरौ, यौन रोग र एचभाईभीबाट सुरक्षित रहौ भन्ने पर्चा पनि राखिएको हुन्छ । कण्डमको प्रयोग विना यौन सम्बन्ध अस्विकार गर्न र सचेत रहन महिलाहरुलाई पर्चामा आग्रह गरिएको छ । यसरी बाकस भित्र एचभाईभी सम्बन्धी काम गर्दै आएका सक्रिय सेवा समाज र प्रेरणाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले कण्डम राखिदिने गर्छ । बाकस रित्तियो की भनेर रेखदेखको जिम्मा एचभाईभी संक्रमितको संस्था सन्देश सहयोग समुहलाई दिईएको पोखरेलले बताए । जनस्वास्थ्य कार्यालयमा भन्दा अन्य कार्यालयबाट धेरै कण्डम सदुपयोग भएको उनले बताए ।
२०७० मंसिरबाट प्रशासन, जिविस, वन, महिला विकास, मालपोत, शिक्षा, टेलिकम, नापी, बस र जीपको काउन्टरमा यो सुविधा दिईएको हो । सन्धिखर्क नगरपालिका र प्रहरी कार्यालयमा पनि राखिनेछ । एचआईभी एड्स र यौन रोगको रोकथाम गर्ने उद्देश्यले यो विधि अपनाईएको उनले बताए । जिल्लामा एचभाईभी संक्रमितको संख्या बढदै गएपछि जनचेतनाको लागि सजिलो माध्यम हो । महिनामा सबै कार्यालयमा गरी एक हजार जति कण्डम खपत हुने गरेको छ, प्रेरणा परियोजनाका संयोजक शुनिल अधिकारीले भने, यौन रोग र एचआईभी भनेको स्वस्थ्यको संवेदनशिल क्षेत्र हो यसको लुकेर होईन खुलेर प्रचार गरी सबैले शिक्षा लिएर सचेत बन्नु आवश्यक छ । पर्चामा यौन रोग र एचभाईभी भनेको के हो, यो कसरी सर्छ र यसबाट बच्ने उपायको बारेमा जानकारी दिईएको छ ।
जिल्लामा एचआईभी संक्रमितको संख्या १ सय २७ पुगेको छ । पाँच वर्ष अघि २५ जना थिए । गाउँमा एचआईभी सम्बन्धी जनचेतना अभिवृद्धि लगायतको कार्यक्रम संस्था मार्फत सञ्चालन पनि गरिएको उनले बताए । सरकारी कार्यालयमा राखिएको कण्डम र पर्चाले धेरै सर्वसाधारण चेतनशिल भएको उनले दावी गरे ।