काठमाडौं, कार्तिक २८ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेता बाबुराम भट्टराईलाई संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिबाट हटाउन चुनौति दिएका छन् ।
संसद सचिवालयमा बसेको संवाद समितिको बैठबाट बीचमै निस्किएका दाहालले कांग्रेस-एमालेलाई नयाँ सभापति बनाउन ठाडो चुनौति दिएका छन् । उनले कांग्रेस-एमालेको साझा प्रस्तावलाई भट्टराईले अगाडि नबढाउने पनि बताए । ‘बाबुरामजीले कांग्रेस-एमालेको प्रस्ताव अगाडि बढाउनुहुन्न,’ उनले संचारकर्मीसित भने, ‘उहाँहरुले सभापति फेरेर आफ्नो प्रस्ताव संविधानसभामा पठाए हुन्छ ।’
कांग्रेस-एमालेको साझा प्रस्तावलाई नै समितिको प्रस्ताव बनाउने अडान लिएको भन्दै दाहालले असन्तुष्टि राखे । दाहाल शुक्रबार नै धनगढी गएका छन् ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने एमाओवादी माघ ८ मा संविधान जारी गर्नबाट पछाडि हटेको प्रतिक्रिया दिए ।
EKANTIPUR