अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले संसदीय समितिको अपमान गरेको आरोप

काठमाडौं, कार्तिक ३० । संसद्को कृषि तथा जलस्रोत समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले संसदीय समितिको अपमान गरेको आरोप लगाएको छ ।
अख्तियार प्रमुख कार्कीले समितिमा उपस्थित हुन अस्वीकार गरेपछि सो समितिले यस्तो आरोप लगाएको हो । समितिको आज बसेको वैठकले जुनसुकै संस्था र त्यसका प्रमुखलाई समितिमा बोलाउन सक्ने जिकीर पनि गरेको छ ।
बैठकमा नआएर कार्कीले संसदीय व्यवस्थाकै मानमर्दन गरेको भन्दै समितिका सभापति गगन थापाले आक्रोश पोखे । थापाले यो बिषय अब संसदको समेत चासोको बिषय बनेको बताए ।
अख्तियारले आयोजना ओगटेर बस्ने तर काम नगरेको भन्दै लाइसेन्स खारेज गर्न आदेश दिएका काबेली ए, तल्लो बलेफी, बलेफी बी, माथिल्लो सोलु, भोटेकोशी ५ लगायतका विभिन्न १४ वटा विद्युत आयोजनाका विषयमा छलफल गर्न समितिले कार्कीलाई बोलाएको थियो ।
अख्तियार प्रमुख कार्कीले भने संसदको सुशासन समितिले मात्रै अख्तियारसंग सोधपूछ गर्नसक्ने दाबी गर्दै आएका छन् । यसअघि संसदको अर्थ समितिसंग पनि अख्तियारको यस्तै टकरावको अवस्था आएको थियो ।
IMAGEKHABAR