सार्क शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरु काठमाडौंमा

काठमाडौं, मंसिर ९ – सार्क शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरु मङगलबार राजधानी आइपुगेका छन् । सबभन्दा पहिला बिहान १० बजे श्रीलंकाली राष्ट्रपति महिन्द्रा राजपाक्षे विमानस्थलमा ओर्लिएका थिए । विदेशमन्त्रीका साथ आएका उनलाई उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले स्वागत गरेका थिए ।
Home
हसिँलो चेहराकासाथ आएका उनलाई अवतरणपछि पञ्चकन्या मञ्चमा नेपाली सेनाको टुकडीले गारद सलामी दिएको थियो । त्यहाँ श्रीलंकन र नेपाली राष्ट्रिय धुन नेपाली सेनाले बजाएको थियो ।
त्यसपछि सय मिटर दुरीमा रहेको अतिबिशिष्ट कक्षमा लगिएको थियो । केही समय आराम गरेपछि राजपाक्षे नेपाली सेनाको सुपरपुमा हेलिकप्टरबाट लुम्बिनी लागेका थिए । उनी चढेको हेलिकप्टरलाई नेपाली सेनाको अर्को हेलिकप्टरले हवाईगस्ती गरेर सुरक्षा दिएको थियो ।
उनी लुम्बिनी प्रश्थान गरेको केही समयपछि अफगानस् राष्ट्रपति असरफ घानी काठमाडौंमा अवतरण गरेका थिए । उनलाई अर्का उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वागत गरे । उनलाई पनि राजपाक्षेलाई स्वागत गरे जसरी गरिएको थियो । सार्क राष्ट्र तथा सरकार प्रमुखहरु केही समयको अन्तरालमा आउने भएपछि उनीहरुलाई स्वागतका लागि बसेका उपप्रधानमन्त्रीद्वय गौतम र सिंह अतिबिशिष्ट व्यक्ति कक्षमा पर्खिदै स्वागत गरेका थिए । स्वागत गरिएका अतिथीहरुलाई भने सुरक्षाकर्मीहरुले स्कर्टिङ गरेर सोल्टी होटल पुर्‍याएका थिए ।  मुख्यसचिव लिलामणी पौडेल पनि साथै थिए ।
अफगानिस्तानपछि भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे बिमानस्थलमा अवतरण गरेका थिए । डुक एयरको नियमित उडानबाट आएका उनलाई उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले स्वागत गरे । त्यसको केहि समयपछि माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन गैयूम काठमाडौं आईपुगेका थिए । उनकी पत्नि पनि साथै थिईन ।
दिउँसो पौने ४ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमानस्थलमा ओर्लिएका थिए । बिशेष बिमानबाट आएका उनलाई गौतमले नै फुलको गुच्छा दिएर स्वागत गरेका थिए । स्वागत क्रममा सञ्चारकर्मीले फोटो खिच्न खोज्दा भारतबाट नै आएका सुरक्षकर्मीले छेकेपछि मोदी आफैंले त्यहाँ हट्न इशारा गरेका थिए । भारतीय प्रधानमन्त्रीपछि पाकिस्तानी प्रधानमन्त्री नवाब सरिफ आइपुगे । उनलाई प्रकाशमान सिंहले स्वागत गरे । अन्तिममा बंगालादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौं आईपुगिन् । उनलाई प्रकाशमानसिंहले स्वागत  गरेका थिए ।
 ekantipur