काठमाडौं – नेपाली प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीले काठमाडौं-नयाँ दिल्ली बस सेवाको उद्घाटन गरेका छन्। दैनिक एक-एक वटा बस सञ्चालन गर्न भारत सरकारसँग सम्झौता गरी यो सेवा सुरु गरिएको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअगाडि दुवै प्रधानमन्त्रीले रिबन काटेपछि ३५ यात्रुसहित बस दिल्लीतर्फ गुडेको थियो। साँझ पाँच बजे नेपाल र भारतबीच सम्झौता भएपछि सेवा सुरु भएको हो।
नेपाल सरकारको स्वामित्वमा सार्वजनिक सवारी नभएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले व्यवस्थापन गर्ने गरी बस सेवा सुरु भएको छ। उद्घाटन गरेपछि दुवै प्रधानमन्त्रीले करिब दुई मिनेट बसभित्रका यात्रुहरूलाई शुभकामना व्यक्त गरेका थिए।
‘उद्घाटनपछि बसभित्र हामीले दुवै प्रधानमन्त्रीलाई माला र खादा ओडाइदियौं,’ महासंघका महासचिव सरोज सिटौलाले नागरिकसँग भने, ‘त्यसपछि यात्रुलाई बाइबाइ गरेर प्रधानमन्त्रीहरूले बिदाइ गर्नुभो।’ NAGARIKNEWS