अमेरिकामा काला निहत्था व्यक्तिको हत्या आरोप लागेका अर्का गोरा प्रहरी अधिकृतलाई फेरि कानुनी कारबाही गर्न अस्वीकार

अमेरिकामा काला निहत्था व्यक्तिको हत्या आरोप लागेका अर्का गोरा प्रहरी अधिकृतलाई फेरि कानुनी कारबाही गर्न त्यहाँको ग्रान्ड ज्यूरीले अस्वीकार गरेको छ । न्यूयोर्कको ग्रान्ड ज्यूरीले उक्त प्रहरी अधिकारी उपर कारबाही गर्न नमानेपछि अमेरिकामा फेरि व्यापक असन्तोष छाएको छ ।
गत जुलाईमा एरिक गार्नर नामक काला व्यक्तिको हत्या गरेको आरोप प्रहरी अधिकृत डेनियल पेन्टालेओलाई लागेको थियो । गार्नरको घाँटी थिचेर हत्या गरेको शव परीक्षण रिपोर्टमै उल्लेख थियो । तर, ज्यूरीले त्यससम्बन्धी भिडियो समेत हेर्न नमानेको गार्नरका परिवारको वकिलले बताएका छन् ।
दुई हप्ताको बीचमा काला जातिको हत्या आरोपमा गोरालाई कारबाही नगर्न ज्यूरीले गरेको निर्णय यो दोस्रो हो । यसअघि फर्गुसनमा एक काला युवक माइकल ब्राउनको हत्या आरोपित प्रहरी अधिकृत डेरेन विल्सनलाई पनि ज्यूरीले आरोपमुक्त गरिदिएको थियो ।
जुलाईमा सार्वजनिक भिडियोमा भने प्रहरी अधिकृत पेंटालेओले गिरफतार गरेका गार्नरको घाँटी थिचिएको र बचाउका लागि चिच्याइरहेको देखिएको बताइन्छ । गार्नरमाथि भने कर नतिरी चुरोट बेचेको आरोप प्रहरीले लगाएको थियो । (एजेन्सी)