अर्घाखाँचीका ११३ वन समितिद्धारा चुरे वातावरण संरक्षण क्षेत्र खारेजीको माग गर्दै ठाडामा विरोध प्रदर्शन


 

ठाडा, अर्घाखाँची  । अर्घाखाँची जिल्लाका १ सय १३ वन समितिले सरकारले घोषणा गरेको चुरे वातावरण संरक्षण क्षेत्र खारेजीको माग गर्दै शनिबार विरोध प्रदर्शन गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ अर्घाखाँचीको संयोजनमा जिल्लाका १ सय १३ सामुदायिक वनका उपभोक्ताहरु ठाडादहमा भेला भइ विरोध प्रदर्शन गरेका हुन् ।



सो भेलालाई सम्बोधन गर्दै चुरे संघर्ष समितिका संयोजक एवं सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष गणेश कार्कीले सरकारले घोषणा गरेको चुरे संरक्षण क्षेत्रले वनलगायत प्राकृतिक स्रोतमाथिको अधिकार कटौती गरेकाले स्थानीय उपभोक्ताहरुलाई सजग हुन आग्रह गरे ।



साथै सभामा समुदायमा आधारित वन सहजकर्ता सन्जालका अध्यक्ष भोला खतिवडाले चुरे वातावरण संरक्षण घोषणा गरी सरकारले वन उपभोक्ताहरुको अधिकार कटौती गर्न खोजिरहेको भन्दै अधिकारको आन्दोलनमा आह्वान गरेका थिए ।



यसैगरी हिमवन्ती नेपालकी अध्यक्ष रमा आलेमगरले चुरे संरक्षण कार्यक्रमले उपभोक्ताको अधिकार कुन्ठित गरेको भन्दै कार्यक्रम फिर्ता लिनुपर्ने बताइन् ।



उक्त सभामा जिविस महासंघका प्रवक्ता कृष्णप्रसाद जैसी, गाविस महासंघका महासचिव भीम ढुंगानालगायतले चुरे संरक्षण कार्यक्रमले उपभोक्तालाई अधिकारविहीन बनाउन खोजेको बताएका थिए ।



साथै कार्यक्रममा सम्बोधन गर्दै राजनीतिक दलका जिल्लास्तरीय नेताले चुरेमा सरकारले लिएको कदमको विरोध गर्ने र यसबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने बताएका थिए ।



गत आषाढ २ गते वातावरण संरक्षण ऐन २०५३ को दफा १० बमोजिम सरकारले वातावरण संरक्षण क्षेत्र घोषणा गरेको थियो । उक्त घोषणाका विरुद्धमा सामुदायिक वन उपभोक्ता महासंघलगायत २० संगठनहरु देशव्यापी रुपमा आन्दोलनमा छन् ।



स्रोत: केही नेपाली संचारमाध्यम 

अन्य समाचारहरु