एमालेले लामो कसरतपछि अन्ततः सर्वसम्मत ६२ सदस्यीय पोलिट्ब्यूरो चयन

काठमाडौं, मंसिर २८ – एमालेले लामो कसरतपछि अन्ततः सर्वसम्मत ६२ सदस्यीय पोलिट्ब्यूरो चयन गरेको छ । तीमध्ये ४७ पूर्ण र १५ जना वैकल्पिक केन्द्रीय सदस्य छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको नाम सर्वसम्मत पारित भएको केन्द्रीय सदस्य जगदीश कुसियतले जानकारी दिए । पोलिट्ब्यूरो सदस्यमा पुराना सबै दोहोरिएका छन् नयाँको उपस्थिति पनि बाक्लिएको छ ।
अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच ओली निवास बालकोटमा बसेको बैठकले दुवैपक्षको भागबण्डा मिलाएपछि पोलिट्ब्यूरो चयन सम्भव भएको हो । एमालेका तीनवटै शक्तिशाली निकाय, स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको स्पष्ट बहुमत भएको छ ।
एमालेमा महाधिवेशन भएको पाँच महिनापछि स्थायी कमिटी र पोलिट्ब्यूरो चयन भएको हो । पोलिट्ब्यूरो चयनका लागि आठौं महाधिवेशनमा भने निर्वाचन नै भएको थियो ।
एमालेमा पदाधिकारी स्वतः पोलिट्ब्यूरो सदस्य रहन्छन् । स्थायी कमिटीमा शनिबार चयन भएका बरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र मुकुन्द न्यौपानेबाहेक अग्नी खरेल, अरुण नेपाल, काशीनाथ अधिकारी, किरण गुरुङ, गणेश तिमिल्सिना, गंगालाल तुलाधर, छविलाल विश्वकर्मा, थममाया थापा,  नागेन्द्र चौधरी, प्रकाश ज्वाला, प्रदिप नेपाल पूर्ण पोलिट्ब्यूरो चयन भएका छन् ।
यसैगरी परशुमेघी गुरुङ, पशुपति चौलागाईं, बिन्दा पाण्डे, बेदुराम भुसाल, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यामलाल कँडेल, रघुजी पन्त, राजेन्द्र पाण्डे, राधा ज्ञवाली, रामनाथ ढकाल, रामप्रित पासवान, लालबाबु पण्डित, विजय पौडेल, विष्णु रिमाल, शंकर पोखरेल, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे र श्रीमाया थकाली पनि पूर्ण पोलिट्ब्यूरो चयन भएका छन् ।
एमालेले कर्ण थापा, गोकुल घर्ती, गोरख बोगटी, गौरा प्रसाईं, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, दलबहादुर राना, बंशिधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव,  शत्रुघन महतो, शेरधन राई र सानुकुमार श्रेष्ठलाई वैकल्पिक पोलिट्ब्यूरो चयन गरेको छ ।
पार्टी एकता बलियो बनाउनुपर्ने भन्दै दोस्रो र तेस्रो बरियताका नेताहरुले दबाब दिएपछि शीर्ष नेताहरु सर्वसम्मत स्थायी कमिटी र पोलिट्ब्यूरो चयन गर्न कस्सिएका थिए ।
पोलिट्ब्यूरोमा ओलीपक्षबाट १७ जना पूर्ण र ९ जना वैकल्पिक तथा नेपाल पक्षबाट १५ जना पूर्ण र ६ जना वैकल्पिक सदस्य चयन भएका छन् । १४ पदाधिकारीसहित बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र स्थायी समिति सदस्य मुकुन्द न्यौपानेसहित पोलिट्ब्यूरो ६२ सदस्यीय भएको छ । पोलिट्ब्यूरोमा ओली पक्षबाट ३४ र नेपाल पक्षबाट २७ जना छन् ।
EKANTIPUR