वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । किमडाँडा र कुर गाउँमा नौ महिनाको अवधीमा ६ जना बालवालिका बाघको आक्रमणबाट मारिएका छन । घरमै आक्रमण गर्न आउने बाघबाट जोगिन साँझ पर्ने वित्तिकै गाउँलेले शंख, बाजा, सनाई, गाग्री ताउला थाल बजाउने गछन ।
ठुलो संख्यामा बाघको बगाल नै देखा परेपछि गाउँ आतंकित छ । शुक्रवार साँझ ४ वर्षीय शुसान्त नेपाली बाघको आक्रमणबाट मरे । छोरालाई लिएर माईत आएकी रुमाको खुसी छिनभरमै खोसिएपछि चिन्तामा छिन । हुर्काईसकेको छोरा बाघले टिपेर लैजादा काख रित्तै बनाएर घर फर्कनु परेको दुखेसो पोखिन । नौ महिनाको अवधीमा वैशाखमा नुवाकोटका ३ वर्षीय नारायण नेपाली, ६ वर्षीय उमेश नेपाली, किमडाँडाका २० महिने युवराज मरासीनि, जेठमा कुर गाउँका दुई वषीय सुरेस आचार्य, भदैमा किमडाँडाकी सात वर्षीय सुजाता विक बाघको आक्रमणबाट मारिए । कुरका २ वर्षीय जीवन सुनार घाईते छन । गाउँले त्रसित छन । साँझ पर्नासाथ एक्लै हिडडुल गर्न गाउँले छाडेका छन । महिना दिनयता गाउँमा त्रास छ, खाचीकोटका नारायण केसीले भने, दिउसै बाटो, खेतबारीमा बसेको देखिन्छ, मान्छे र पशु देख्ने वित्तिकै झम्टिन आउन खोज्छ ।
साँझको बेला घरमा आएर मान्छे र गाईवस्तु माथि पर्ने गर्छ । त्यसबाट जोगिन कुर,खाची गाउँमा सनाई, बाजा, मादल गाग्री ताउला, थाल बजाएर हो-होलल्ला गरेर आक्रमण हुनबाट जोगिने गरेको उनले बताए । हो हल्ला सहित रातभर नाचगान गर्दा पनि आफु बसेको ठाउँ नछाडेको गाउँलेको भनाई छ । खाचीकोट घरतर्फ जादै गर्दा सुदिप ज्ञवालीलाई मोटरसाईकल र बेयोरेमा मुकुन्द आचार्यलाई घर अगाडी नै झम्टिन खोज्दा उनीहरु भागेर बाचे । राती त बाजा, थाल, गाग्री बजाएर हो हल्ला गर्छौ, डिहीडाँडाका कृष्ण परियारले भने, दिउसको बेला खेतबारीमा घास दाउरा काटन, मेलाको काम गर्न र हिडडुल गर्न डर लाग्छ कतिबेला झ्वाम्म आक्रमण गर्ने हो थाहा हुदैन् ।
गाउँमा बेला बेलामा ठुलो पाटे बाघ बाटो, खेतबारी र घर नजिकै देखा पर्ने गर्छ । बाहिर गएको घरको सदस्य नफर्कदासम्म मनमा चिन्ता लाग्छ कतै आक्रमण त गरेन भनेर, रुद्र थापाले भने, छोराछोरीलाई एक्लै स्कुल पठाउदैनौ । गाउँलेका अनुसार हेर्दा बाघ जस्तै देखिन्छ तर यस अघि यस्तो दुःख दिएको थिएन् । तराईसँग जोडिएको र उच्च पहाड नभएकाले बाघ आउन सक्ने आशंका गाउँलेको छ । तराईका धेरैजसो वनमा डढेलो लागेको बाघ, चितुवा यतातिर हानिएको हुनसक्ने अनुमान छ ।
सहायक जिल्ला वन अधिकृत मदनप्रसाद ढुंगानाले आक्रमण गर्न जंगल छाडेर साँझ विहान खुला ठाउँमा आउन सक्छ यसबाट जोगिन घर उज्यालो बनाई राख्ने र आफै सुरक्षित हुनुपर्ने उनले बताए ।
बाघ खोजी गर्न समिति गठन
सदरमुकामसँग जोडिएका गाउँमा बाघले आंतक मच्याएपछि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र पौडेलको संयोजकत्वमा डिएसपी दिपेन्द्र जिसी, सहयाक वन अघिकृत डिलाराम पाण्डे र किमडाँडा गाउँका दलका नेता र पत्रकार महासंघका अध्यक्ष शोभाखर पंथी सहितको बाघको खोजी गर्न समिति गठन गरिएको छ । दुई दिन देखी किमडाँडा, कुर लगायत आसपासका क्षेत्रमा प्रहरीको दुई टोली खटिएको छ, जिसीले भने, आठ जना प्रहरीले जंगलमै बसेर घेराबन्दी गरी खोजिरहेका छन तर भेटिएको छैन । बाघ खोज्नका लागि गाउँले वन कार्यालयका कर्मचारी सबै खटिएका छन ।