ठूला दलका नेताहरुको सत्ता स्वार्थका कारण संविधान निमार्णमा सहमति जुट्न नसकेको साना दलको आरोप

काठमाडौं, पौष ५ । साना दलका नेताहरुले ठूला दलका नेताहरुको सत्ता स्वार्थका कारण संविधान निमार्णमा सहमति जुट्न नसकेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा साना दलका नेताहरुले सत्तामा मात्रै ध्यान दिएकाले संविधान बन्न नसकेको आरोप लगाए । सत्ता स्वार्थकै कारण ठूला दलका नेताहरुले संविधानका अन्तर्वस्तुमा राम्रोसंग छलफल नै नगरेको उनीहरुको भनाई छ ।
कार्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले दुई तिहाई बहुमतकै आधारमा काँग्रेस एमालले प्रक्रियाबाट संविधान निर्माण गर्न खोजेको आरोप लगाए ।
बहुमतको आधारमा संविधान बनाइए आफुहरुलाई मान्य नहुने भन्दै उनले सडक संघर्षमा जान तयार रहेकोसमेत बताए । माले महासचिव सिपी मैनालीले माघ ८ मा संविधानको पहिलो मस्यौदा जनतामाझ लैजान ठूला दलहरु गम्भीर हुनुपर्ने बताए ।
विवादित विषयमा जनमत संग्रह गर्न सकिने भन्दै उनले मिलेका विषय समेटेर संविधान जारी गर्न सुझाव दिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि संविधान माघ ८ मै जारी गर्नुपर्ने भन्दै पार्टी स्वार्थ छाडेर संविधान निर्माणमा केन्द्रीत हुन ठूला दलका नेताहरुलाई आग्रह गरे ।
मधेशी जनअधिकार फोरम गाणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पनि प्रमुख दलका नेताहरु सत्ता बाँंडफाँंडमा लागेकाले संविधान जारी हुने सम्भावना कमजोर बनेको बताए ।
IMAGEKHABAR