सन्धिखर्कका विभिन्न ठाउँमा सि.सि टि.भि क्यामेरा जडान

– अर्जुन भुसाल 



सन्धिखर्क, अर्घाखाँची पुस ७ ।  जिल्ला सदरमुकाम सन्धिखर्कका विभिन्न ठाउँमा सि.सि टि.भि क्यामेरा जडान गरिएको छ । 

 


क्यामेराको बारेमा जानकारी दिंदै डिएसपि दीपेन्द्र जिसी । तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम्

 

जिल्ला प्रहरी कार्यालय र उद्योग वाणिज्य संघको पहललमा क्यामेरा जडान गरिएको हो । चार ठाउँमा क्यामेरा जडान गरिएको छ । 



चुत्रावेशीको मोटरेवल पुल नजिकै, मिडिया चोक, शान्तिवगैंचा र उद्योग वाणिज्य संघको कार्यालय अघि क्यामेरा जडान गरिएको छ । क्यामेरा जिल्ला प्रहरी कार्यालयबाट घुमाउन सकिन्छ । क्यामेराले  जडान गरिएको क्षेत्रबाट पचास  मिटर वरिपरिको दृश्य कैद गर्छ  ।   प्रविधिको प्रयोगबाट अपराध न्यूनिकरण गर्ने उद्देश्यका साथ सिसिटिभि क्यामेरा जडान गरिएको प्रहरी नायव उपरिक्षक दीपेन्द्र जिसीले बताए ।  



उनले सिसिटिभि क्यामेरा जडान गरेपछि विभिन्न खाले नकारात्मक गतिविधि नहुने बताए । उनले सबै गतिविधिहरुलाई रेकर्ड गर्न सकिने भएकाले अपराधका गतिविधिमा कमी आउने दावी गरे ।  उनले प्रहरीका गतिविधि र नागरिकका गतिविधि सबै क्यामेरामा कैद हुने भएकाले अब दुबै पक्ष चनाखो हुनुपर्ने बताए । 



उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले क्यामेरा जडान पछि बजार क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति गर्न सकिने बताए । छ लाखको लगानीमा क्यामेरा जडान गरिएको छ ।  उद्योग वाणिज्य संघले आर्थिक संकलन गरि क्यामरा जडान गरेको हो । १६ ठाउँमा क्यामेरा राख्न सकिने क्षमताको टिभि भएकाले अन्य ठाउँमा पनि क्यामेरा फिट गर्दै जाने उवा संघका अध्यक्ष श्रेष्ठले बताए । 

अन्य समाचारहरु