काठमाडौं, पौष २१ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानका विवादित विषयमा सहमति खोज्न दिएको चार दिनको समय पनि दलहरुले त्यत्तिकै गुजारेका छन् ।
गत विहीबार सभाध्यक्ष नेम्वाङले सहमतिका लागि सोमबारसम्मको समयसीमा दलहरुलाई दिएका थिए । नेम्वाङले चार दिनभित्र सहमति गर्न नसके संविधानको मस्यौदा गर्ने अधिकार आफूलाई दिन पनि कार्यव्यवस्था समितिको बैठकमा प्रस्ताव गरेका थिए ।
तर, प्रमुख दलका नेताहरुबीच यसबीचमा पटक-पटक छलफल भएपनि विवादका विषयमा कुनै सहमति हुन सकेन । विपक्षी मोर्चाले त सभाध्यक्षले दिएको समयको अन्तिम दिन सोमबार (आज) मात्रै आफ्नो प्रस्ताव सार्वजनिक गर्यो ।
यसैबीच, विवादित विषयमा छलफल गर्नका लागि सोमबार साँझका लागि डाकिएको चारपक्षीय बैठक बस्दै नबसी मंगलबारका लागि सारिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विपक्षी दलका नेताहरु पुगेपनि सत्ताधारी दुई दल कांग्रेस र एमालेका नेताहरु आन्तरिक छलफलमा ब्यस्त भएपछि मंगलबार बिहान साढे ८ बजेका लागि बैठक सारिएको छ ।
विपक्षीहरुसँग कतिसम्म लचिलो हुने र सहमति नभए कसरी अघि बढ्ने भन्ने विषयमा सत्ताधारी दलहरुबीच छलफल भएको बुझिएको छ । IMAGEKHABAR