काठमाडौं, पौष २१ । एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले संविधान निर्माणका लागि साझा प्रस्ताव भन्दै आफ्नो धारणा सार्वजनिक गरेको छ ।
संविधान जारी गर्ने भनिएको मिति माघ ८ आउन १७ दिन बाँकी रहँदा मोर्चाको सोमबार सिंहदरबारमा बसेको बैठकले संघीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणाली, नागरिकता लगायत विषयमा साझा प्रस्ताव बनाएको हो । उक्त प्रस्तावलाई आजै बस्ने चार दलीय बैठकमा पेश गर्ने बताइएको छ ।
सत्तारुढ कांग्रेस-एमालेले यसअघि नै ७ प्रदेशसहितको साझा प्रस्ताव संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पेश गरेका थिए ।
मोर्चाले मूलतः एकल जातीय नामका १० प्रदेशको प्रस्ताव गर्दै जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीको शासकीय स्वरुप हुुनुपर्ने प्रस्ताव गरेको छ ।
न्याय प्रणालीको हकमा सर्वोच्च, संवैधानिक, उच्च र स्थानीय अदालत राख्नुपर्ने माग अघि सारिएको छ ।
यस्तै, संघीय संरचनामा दुई सदनात्मक व्यवस्थापिका, प्रतिनिधिसभा २३५ तथा राष्ट्रिय सभा ६५ सदस्यीय गराउनुपर्ने प्रस्तावमा उल्लेख छ । त्यसैगरी, प्रदेश सभामा भने २५ देखि ५१ सदस्य रहने उल्लेख गरिएको छ ।
IMAGEKHABAR