बंगलादेशमा सत्तारुढ र विपक्षी पार्टीका कार्यकर्ताबीचको झडपमा गोली चल्दा दुईजनाको मृत्यु

बंगलादेशमा सत्तारुढ अवामी लिग र विपक्षी बंगलादेश नेसनलिष्ट पार्टीका कार्यकर्ताबीचको झडपमा गोली चल्दा दुईजनाको मृत्यु भएको छ ।
उत्तरी नातोर सहरमा दुई पार्टीका कार्यक्रमबीच हिंसात्मक झडप भएको  छ । विपक्षीले बहिस्कार गरेको आमनिर्वाचन सम्पन्न भएको एक वर्षमा हिंसा भड्किने आशंकाले प्रशासनले भने प्रदर्शनमा रोक लगाएको थियो । दुबै पार्टीले र्‍यालीको आयोजना गरेका थिए ।
त्यहाँको प्रहरीले आइतबार (हिजो) मात्र प्रमुख प्रतिपक्षी नेतृ खालिदा जियालाई ढाकामा उनकै कार्यालयमा थुनेर मुख्यालयमा ताला लगाइदिएको थियो । जियाले प्रजातन्त्रको हत्या भएको दिन भन्दै सोमबार आमप्रदर्शन गर्ने चेतावनी दिएकी थिइन् ।
सत्ताधारी दलले धाँधली गर्नसक्ने आधारमा बंगलादेश नेसनलिस्ट पार्टी तथा उसका सहयोगी दलले निर्वाचनमा भाग लिन अस्वीकार गरेका थिए ।
जियाले निष्पक्ष कामचलाऊ सरकारबाट नयाँ निर्वाचन गराउन माग गर्दै मुलुक बन्द गर्ने चेतावनी दिएपछि तनाब बढेको हो ।
गत वर्ष निर्वाचनको समयमा जियालाई घरमै सीमित गरिएको थियो भने निर्वाचनपछि रिहा गरिएको थियो । AGENCIES