काठमाडौं, पौष २५ । मधेसी मोर्चाका नेताहरुले नेकपा-एमालेका अध्यक्ष केपी शर्मा ओलीले माफी नमागेसम्म चार राजनीतिक शक्तिको संयुक्त बैठकमा नबस्ने अडान दोहोर्याएका छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौलासहितका नेतासँग आज बिहान बालुवाटारमा भएको छलफलमा उनीहरुले समथर भूमि सबै मधेस प्रदेशमा राख्ने हो भने भारतीय भूमि पनि राख्नु पर्छ भनेर व्यंग गरेबाट सम्पूर्ण मधेसको अपमान भएकाले माफी नमागेसम्म बैठकमा नआउने बताएका थिए ।
प्रधानमन्त्री कोइरालाले चार पक्षको बैठकमा आउन आग्रह गरे पनि मधेसी नेताहरुले एमाले सहभागी बैठकमा नआउने निर्णय सुनाएका थिए ।
यसैबीच, मधेसी मोर्चा आजै साँझ ६ बजेका लागि तय गरिएको कांग्रेससँगको बैठकमा भने बस्ने भएको छ । बैठक संविधानका विवादित मुद्दामा सहमति खोज्न केन्द्रित हुने बताइएको छ । IMAGEKHABAR