काठमाडौ – राष्ट्रसंघका महासचिव बान कि-मुनले नेपालका राजनीतिक दलका नेताहरूलाई छुट्टाछुट्टै पत्र पठाई समझदारीमा समयमै संविधान बनाउन आग्रह गरेका छन् । माघ ८ को मिति दलहरूले नै तोकेको र त्यो समय नजिकिँदै जाँदा समझदारीमा मुलुकको बृहत्तर हित हुने समावेशी र लोकतान्त्रिक संविधान जारी हुने विश्वास राष्ट्रसंघको छ, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र मधेसी मोर्चाका विजयकुमार गच्छदारलाई छुट्टाछुट्टै पठाएका पत्रमा उनले भनेका छन् ।
उनले नेपाली दलहरूले समझदारी गरी मुलुकको बृहत्तर हित हुने समावेशी र लोकतान्त्रिक संविधान जारी गर्नेमा राष्ट्रसंघ विश्वस्त रहेको उल्लेख गरेका छन् । भारत भ्रमणमा निस्कनुअघि उनले नेपाली नेताहरूलाई व्यक्तिगत सम्बोधन गरी पत्र पठाएका हुन् । पत्र बानका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्रे फेल्टम्यान आउनु दुई दिनअघि हात लागेको हो । बानसँगै भारत भ्रमणमा रहेका फेल्टम्यान नेपाल आई र्फकने छन् ।
संविधान जारी गर्ने बेलामा विवाद गरिरहेका प्रमुख दलहरूलाई मनोवैज्ञानिक दबाब दिन राष्ट्रसंघका महासचिवले पत्र पठाएको विश्लेषण परराष्ट्र अधिकारीको छ ।
महासचिवले समयमै संविधान जारी गर्न आग्रह गर्दै प्रधानमन्त्री कोइरालालाई समेत दुई साताअघि पत्र पठाएका थिए । पत्रमा नेपालको राजनीतिक अवस्था र संविधान जारी गर्न भइरहेका समझदारी प्रयासका बारेमा प्रधानमन्त्रीसित जिज्ञासासमेत राखेका थिए । प्रधानमन्त्रीको प्रत्युत्तरपछि उनले समयमै समझदारीमा संविधान निर्माणका लागि थप दबाब दिन प्रमुख ४ दलका नेतालाई पत्र पठाएका हुन् ।
बानको पत्रमा भनिएको छ, ‘संविधान जारी गर्न तपाइर्ंहरूले तोकेको समय नजिकिँदै छ । विश्वास छ, बृहत् शान्ति सम्झौताको भावनामा अडेर एकआपसको समझदारीमा संविधान जारी हुनेछ ।’ उनको पत्र बुधबार नै न्युयोर्कस्थित नेपाली नियोगमा आएको भए पनि आइतबार परराष्ट्र मन्त्रालय हुँदै दलका नेताहरूसमक्ष पुगेको हो । पत्रमा सबैलाई मान्य हुने समावेशी र प्रजातान्त्रिक संविधान समयमा नै दिन नेपालका दलहरू सक्षम हुने विश्वाससमेत व्यक्त गरिएको छ ।
दिगो शान्ति र राजनीतिक स्थिरताका लागि दलहरूबीच जारी वार्ताबारे जानकारी लिन उपमहासचिव नेपाल आउन लागेको र उनले थप छलफल गर्ने बानले उल्लेख गरेका छन् । उनले नेपालको शान्ति प्रक्रियाको आरम्भ, राष्ट्रसंघको भूमिका, संविधानसभाको पहिलो निर्वाचन, माओवादी लडाकु समायोजन र दोस्रो संविधानसभा निर्वाचनलगायत प्रसंगका साथै सन् २००८ मा आफूले गरेको भ्रमण पनि स्मरण गरेका छन् ।
एमाओवादी अध्यक्ष दाहालले आइतबार एक कार्यक्रममा राष्ट्रसंघले पत्र नै पठाएर समझदारीमा संविधान जारी गर्न आग्रह गरेको सार्वजनिक गरेका थिए । EKANTIPUR