काठमाडौं – एमाओवादी मिल्नेजति विषयमा सहमति गरी नमिलेका मुद्दामा छलफल गर्दै जाने रणनीतिमा पुगेको छ । प्रमुख विपक्षी एमाओवादीले माघ ८ को समयसीमाभित्र सहमति प्रयास जारी राख्न कांग्रेस र एमालेलाई आग्रहसमेत गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार दिउँसो संविधानसभा भवनमा प्रमुख दलका शीर्ष नेताको बैठकमा हतारमा प्रक्रियामा गएर सहमतिको ढोका बन्द गर्नुभन्दा सहमति गर्न सकिने विषयमा छलफल गर्न आग्रह गरेका थिए । ‘जति विषयमा सहमति गर्न सकिन्छ, ती विषयमा सहमति गरेर जाऔं,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सहमति हुन नसकेका विषयमा जनतालाई जानकारी दिऔं र जनतासँग माफी पनि मागौं । त्यसो गर्दा सहमतिमा पुग्न सकिन्छ ।’
एमाओवादीसहितका विपक्षी दलले कांग्रेस, एमालेको बहुमतीय प्रक्रियाबाट संविधान निर्माण गर्ने प्रक्रिया रोक्न संविधानसभा र सडकमा दबाब सिर्जना गरिरहेका बेला दाहालबाट यस्तो प्रस्ताव आएको हो । यो प्रस्तावबारे प्रधानमन्त्री सुशील कोइरालाले छलफल गर्न सकिने आश्वासन दिएका छन् । कांग्रेस र एमालेले संविधानसभामा प्रक्रिया सुरु भए पनि सहमतिका लागि आफूहरू खुला रहेको बताइरहेकै बेला एमाओवादीले अझै समझदारी प्रयास गर्न जोड दिएको हो ।
एमाओवादी महासचिव कृष्णबहादुर महराले सहमतिका लागि माघ ८ सम्म प्रयास गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे । ‘सक्ने जति विषयमा सहमति गरेर जानु उचित हुन्छ,’ उनले भने, ‘नमिलेका विषयमा छलफल गर्न केही समय थप्न सकिन्छ ।’
‘नैतिक रूपमा माघ ८ को दबाब सबै दललाई छ, त्यस कारण यो दिनसम्म एउटा राजनीतिक सहमति गरेर जान सकिन्छ,’ महराको भनाइ छ, ‘सत्तापक्षले प्रक्रियाको मात्र कुरा गरेको देखिन्छ, त्योभन्दा सहमति नै उत्तम विकल्प हो ।’
यसबारे दाहालले प्रधानमन्त्री कोइरालासँग शुक्रबार बिहान बालुवाटारमा छलफल गरे । भेटमा दाहालले जबर्जस्त प्रक्रियामा सुरु गर्दा झन् द्वन्द्व हुने भन्दै सहमतिका लागि प्रयास गर्न आग्रह गरेका थिए । कोइरालाले आफू पनि सहमतिको पक्षमा भएको उल्लेख गर्दै यसका लागि प्रयास जारी राख्ने बताएका थिए । ‘अध्यक्ष र प्रधानमन्त्रीबीच पनि कुराकानी भइरहेको छ, दलहरूबीच सहमति गर्ने वातावरण बनाउनुपर्छ भन्नेमा केन्दि्रत छ,’ महराको भनाइ छ । सत्तापक्ष र विपक्षीबीच दूरी कम गर्न दुई शीर्ष नेताबीच कुराकानी भएको हो ।
एमाओवादीसहित विपक्षी दलले प्रक्रियामा गएर माघ ८ भित्र संविधानको मस्यौदा पनि बन्न नसक्ने भन्दै केही समय थपेर भए पनि सहमति प्रयास गर्नुपर्नेमा जोड दिँदै आएका छन् । संविधानसभा नियमावलीलाई बेवास्ता गरे संविधानसभाभित्र सहमतिको प्रक्रिया समाप्त हुने दाबीसमेत ती दलको छ । ‘संविधानसभाभित्र र बाहिर द्वन्द्व निम्त्याउनु हुँदैन, केही न केही विकल्प खोज्न आवश्यक छ,’ महराको भनाइ छ ।
विपक्षीहरू जसरी पनि माघ ८ सम्म संविधानसभामा प्रक्रिया सुरु हुन नदिने कसरतमा लागेका छन् । माघ ८ सम्म बहुमतीय प्रक्रियालाई रोक्न सके राजनीतिक कोर्स परिवर्तन हुनसक्ने एमाओवादीको बुझाइ छ । बहुमतीय प्रक्रिया अघि बढेमा एमाओवादी, मधेसी र जनजाति दलका मुद्दा सम्बोधन नहुने निष्कर्ष निकाल्दै विपक्षीले सहमतीय प्रक्रियामा जोड दिँदै आएको हो ।
आन्दोलनको नारा, अग्रगामी संविधान
विपक्षी दलले सडक आन्दोलनको नारा पहिचानसहितको संघीयता हुनुपर्ने तय गरेका छन् । ‘संयुक्त जनआन्दोलन कार्यदल’ को बैठकले आन्दोलन संविधान निर्माणका लागि भएको भन्दै यस्तो नारा तय गरेको हो । ‘यथास्थिति र प्रतिगमनविरुद्ध संघर्ष गरौं, उत्पीडित राष्ट्रियताको पहिचान र अधिकारसहितको संघीय गणतन्त्रात्मक संविधान निर्माण गरौं’ भन्ने मूल नारा तय गरिएको छ । ‘सहमतिका लागि नै आन्दोलन हो,’ संयोजक महराले भने, ‘आन्दोलन र वार्ता सँगसँगै अघि बढ्छ ।’ एमाओवादी, मधेसी, जनजाति, नेकपा-माओवादीलगायत जनजाति संघसंस्थासँग मिलेर आन्दोलन जारी राखेको छ ।
तल र माथिबाट दबाब दिने
संविधानसभामा प्रमुख दलको बैठकलगत्तै दाहाल ललितपुर बालकुमारीस्थित खन्ना गार्मेन्टको भवनमा आन्दोलनमा परिचालन हुने नेता तथा कार्यकर्तालाई निर्देशन दिन पुगे । करिब पाँच सय नेता तथा कार्यकर्ता उपस्थित भएको हलमा उनले गणतन्त्र, संघीयतालगायत प्राप्त उपलब्धि धरापमा परेको उल्लेख गर्दै आगामी आन्दोलन सशक्त बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले त्यहाँ पनि पहिचानसहितको संविधानमा सहमतिका लागि आन्दोलन आवश्यक परेको जनाए ।
‘प्राप्त उपलब्धि गुम्ने खतरा आएको छ, त्यसकारण माथि र तल (संविधानसभा र सडक) बाट दबाब सिर्जना गर्नुपर्छ,’ उनको भनाइ थियो । उनले आफू पनि सडकमा आउने उल्लेख गर्दै सहमति नभएसम्म आन्दोलन जारी राख्ने बताएका थिए । बैठकमा एमाओवादी वरिष्ठ नेता एवं संवाद समितिका सभापति बाबुराम भट्टराईले समितिमार्फत सहमतिको प्रयास जारी राखेको बताएका थिए । उनले आफू पार्टी नीतिविपरीत नगएको उल्लेख गर्दै आन्दोलनमा सक्रिय सहभागी हुने बताएका थिए ।
EKANTIPUR